नयाँ शैक्षिक सत्रदेखि गेटामा चिकित्सा शिक्षाको पढाइँ

अत्तरिया  : सुदूरपश्चिमका लागि बहुप्रतीक्षित स्वास्थ्य शिक्षा केन्द्रका रूपमा रहेको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय अब औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ ।

गेटास्थित विश्वविद्यालयमा आगामी शैक्षिक सत्रदेखि चिकित्सा शिक्षाको पठनपाठन सुरु गर्ने निर्णय गरिएको हो । विश्वविद्यालय सभाको चौथो बैठकले विभिन्न चार वटा सङ्कायमा अध्ययन–अध्यापन सुरु गर्ने निर्णय गरेको जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा सम्पन्न बैठकले विश्वविद्यालय सञ्चालनसँगै विद्यार्थी भर्ना कोटा पनि निर्धारण गरेको छ ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुनिलकुमार जोशीका अनुसार आगामी शैक्षिक सत्रदेखि नै कक्षाहरू औपचारिक रूपमा सञ्चालन गरिनेछ । निर्णय अनुसार ५० जना एमबिबिएस, ३० जना बीएस्सी नर्सिङ, २० जना बीएमएलटी र २० जना अप्टोमेट्रीतर्फ विद्यार्थी भर्ना गरिनेछ । साथै, ३ सय शैयाको शिक्षण अस्पताल सञ्चालन गर्ने तयारीसमेत अघि बढाइएको छ । सरकारले विश्वविद्यालय सञ्चालनका लागि आवश्यक वित्तीय स्रोतसमेत सुनिश्चित गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ७५ प्रतिशत छात्रवृत्तिको व्यवस्था गरिसकेको छ । आर्थिक वर्ष ०८२\८३ को जेठ–असारका लागि चिकित्सकहरूको तलबबापत ५ करोड रुपैयाँ बजेट उपलब्ध भइसकेको छ भने आगामी वर्षका लागि २ अर्ब ५३ करोड रुपैयाँ बजेट माग गर्दै अर्थ मन्त्रालयमा प्रस्ताव पेश गरिएको छ ।

बुधबारको सिनेट बैठकले विश्वविद्यालय सभामा दुई महिला र दुई पुरुष सदस्य मनोनीत गरेको भए पनि उनीहरूको नाम सार्वजनिक गरिएको छैन । यसअघि विश्वविद्यालयका तीन वटा बैठक संघीय राजधानी काठमाडौंमा बसेका थिए भने पहिलो पटक गेटामै बैठक सम्पन्न भएको हो । कानुनी व्यवस्था अनुसार विश्वविद्यालयको सर्वोच्च निकायका रूपमा सभा गठन गरिएको छ, जसको अध्यक्ष शिक्षामन्त्री रहने प्रावधान छ । सभामा स्वास्थ्यमन्त्री, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष, उपकुलपति तथा गोदावरी नगरपालिकाका प्रमुख सदस्य रहने व्यवस्था छ ।
साथै अन्य विश्वविद्यालयका एक उपकुलपति सदस्य रहने प्रावधान अनुसार सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. हेमराज पन्तलाई यसअघि नै मनोनयन गरिएको थियो ।

गोदावरी नगरपालिका–५ गेटामा करिब ५१ हेक्टर क्षेत्रफलमा फैलिएको विश्वविद्यालयमा हालसम्म नेपाल सरकारले ६ अर्ब रुपैयाँभन्दा बढी लगानी गरिसकेको छ । ४२ वटा भवन निर्माण सम्पन्न भइसकेका छन् । २०८० माघ २९ गतेको मन्त्रिपरिषद् बैठकले विश्वविद्यालय स्थापना तथा सञ्चालन गर्ने निर्णय गरेको थियो । शिक्षामन्त्री सस्मित पोखरेलले आवश्यक बजेट सुनिश्चित भइसकेकाले आगामी शैक्षिक सत्रदेखि जसरी पनि पठनपाठन सुरु हुने स्पष्ट पारे । उनले यो परियोजना देशकै गौरवको योजना भएकाले कुनै पनि हालतमा कार्यान्वयनमा लैजाने बताए ।

कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य डा. आनन्द चन्दले विश्वविद्यालय सञ्चालनमा कुनै शंका नरहेको उल्लेख गर्दै यसले सुदूरपश्चिममा शिक्षा र स्वास्थ्य सेवामा नयाँ अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरे । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा आउनु सुदूरपश्चिमका लागि ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ । यसले क्षेत्रमै गुणस्तरीय चिकित्सा शिक्षा उपलब्ध गराउनुका साथै स्वास्थ्य सेवाको विस्तारमा टेवा पुग्ने अपेक्षा गरिएको छ । साथै, उच्च शिक्षा अध्ययनका लागि बाहिर जानुपर्ने बाध्यता कम भई क्षेत्रीय विकासमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.