प्रतिभा सामुदायिक पुस्तकालयले पाँच दिने आधारभूत पुस्तकालय तालिम सञ्चालन गर्ने

अत्तरिया  : सुदूरपश्चिम प्रदेशमा पुस्तकालय क्षेत्रको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले अत्तरियास्थित प्रतिभा सामुदायिक पुस्तकालयले पाँच दिने आधारभूत पुस्तकालय तालिम सञ्चालन गर्ने भएको छ।

नेपाल पुस्तकालय संघको संयोजन, नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र केसर पुस्तकालयको सहकार्य तथा गोदावरी नगरपालिकाको सहयोगमा आयोजना हुने उक्त तालिम यही बैशाख ५ गतेदेखि ९ गतेसम्म पुस्तकालयको सभाहलमा सञ्चालन हुनेछ।

पुस्तकालयका अध्यक्ष भुपेश जोशीका अनुसार तालिमको मुख्य उद्देश्य पुस्तकालयमा कार्यरत जनशक्तिको व्यावसायिक दक्षता तथा क्षमतामा अभिवृद्धि गर्नु हो। तालिमलाई व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न तीन उप–समिति गठन गरिएको छ। अतिथि स्वागत तथा सम्मान उप–समितिको संयोजकमा नरेन्द्र राज शर्मा, भोजन तथा आवास व्यवस्थापनमा धर्म सिंह कुँवर र कार्यक्रम व्यवस्थापन उप–समितिको संयोजकमा हेमन्त राज जोशी (बाजे) लाई जिम्मेवारी दिइएको छ।

तालिममा सुदूरपश्चिम प्रदेशका विभिन्न सामुदायिक तथा शैक्षिक संस्थाका पुस्तकालयमा कार्यरत करिब ४० जना ग्रन्थपाल तथा कर्मचारीहरूको सहभागिता रहने जनाइएको छ। तालिमको सहजीकरण केसर पुस्तकालय, काठमाडौंका प्रमुख यादव निरौला र नेपाल पुस्तकालय संघका महासचिव राजेन्द्र पाण्डेले गर्नेछन्।

तालिम व्यवस्थापन संयोजक तथा पुस्तकालयका सह–सचिव हेमन्त राज जोशी ९बाजे० का अनुसार कार्यक्रमले पुस्तकालय सेवाको गुणस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

यसै अवसरमा प्रतिभा सामुदायिक पुस्तकालयद्वारा वार्षिक रूपमा प्रकाशित हुँदै आएको ‘प्रतिभा स्मारिका’ को छैटौं अंकसमेत विमोचन गरिने भएको छ। स्थानीय स्तरमै यस्ता व्यावसायिक तालिम आयोजना हुनु पुस्तकालय क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.