गोदावरी नगरलाई मर्सिकोर नेपाल द्वारा विपद् उद्धार सामग्री सहयोग

अत्तरिया  : गोदावरी नगरपालिकामा विपद् जोखिम न्यूनीकरणका लागि मर्सिकोर नेपालले करिब ३ लाख ४५ हजार रुपैयाँका अत्यावश्यक राहत तथा उद्धार सामग्री हस्तान्तरण गरेको छ । ‘आर्थिक विकास मार्फत जोखिम व्यवस्थापन’ कार्यक्रम अन्तर्गत नगरपालिकाको आपतकालीन परिचालन केन्द्रलाई उक्त सामग्री उपलब्ध गराइएको हो । भदौमा भएको जेन–जी आन्दोलनका क्रममा केन्द्रमा भएको भौतिक क्षति तथा उपकरण नोक्सानीका कारण सेवा प्रवाह प्रभावित बनेको थियो । सोही अवस्थालाई सुधार गर्दै केन्द्रलाई पुनः पूर्ण रूपमा सञ्चालनमा ल्याउन र स्थानीय विपद् व्यवस्थापन क्षमतालाई सुदृढ बनाउन सहयोग प्रदान गरिएको हो ।

हस्तान्तरण गरिएका सामग्रीमा जीवन रक्षा र उद्धारका लागि अत्यावश्यक १२ प्रकारका उपकरणहरू समावेश छन् । जसअन्तर्गत लाइफ ज्याकेट (१८ थान), फोल्डिङ स्ट्रिचर (२ थान), मेगाफोन (५ थान), फायर सुट (३ थान) र सर्प समात्ने औजार (२ थान) रहेका छन् । त्यस्तै सुरक्षा उपकरणतर्फ सुरक्षा जुत्ता (१० जोर), फायर ब्ल्यांकेट (५ थान) र म्यानुअल साइरन (२ थान) समावेश छन् । कार्यालय तथा पूर्वाधारतर्फ मिटिङ चियर (१२ थान), ल्यापटप (१ थान) र गैंती–बेल्चा जस्ता आवश्यक औजारहरू पनि प्रदान गरिएको छ । यी सबै सामग्रीको कुल मूल्य ३ लाख ४५ हजार १०८ रुपैयाँ (करिब २,३४७ अमेरिकी डलर) बराबर रहेको छ ।

कार्यक्रममा मर्सिकोरका सुरज सिग्देलले नगर प्रमुख विरेन्द्र भट्ट लाई सामग्री हस्तान्तरण गरेका थिए । सामग्री ग्रहण गर्दै नगर प्रमुख भट्टले विपद्का समयमा जनधनको क्षति न्यूनीकरणमा यस्ता उपकरणहरूले महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे । साथै उनले प्राप्त सामग्रीको प्रभावकारी प्रयोग गर्दै नगरपालिकाको विपद् प्रतिकार्य टोलीलाई अझ सक्रिय बनाउने प्रतिबद्धता जनाए ।
कार्यक्रममा बोल्दै उनले मर्सिकोर नेपाल प्रति आभार व्यक्त गर्दै यस्ता सहकार्यले स्थानीय तहको विपद् व्यवस्थापन प्रणाली अझ प्रभावकारी बन्ने र दीर्घकालीन रूपमा लाभदायक हुने उल्लेख गरे ।
यो सहयोगले गोदावरी नगरपालिकाको आपतकालीन सेवा प्रणालीलाई पुनर्जीवित गर्नुका साथै समुदायस्तरमा विपद् तयारी र प्रतिकार्य क्षमतामा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.