मेयर हमालले आफूले पाउने सेवा सुविधाबाट ४४ लाख रकम सामाजिक क्षेत्रमा खर्च

धनगढी । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले आफूले पाउने पारिश्रमिक तथा सेवा–सुविधा बापतको रकम सामाजिक क्षेत्रमा खर्च गरेका छन ।
आज शुक्रबार पत्रकार सम्मेलन गरेर मेयर हमालले आफ्नो पारिश्रमिकको रकम खर्च विवरण सार्वजनिक गरेका हुन । मेयरमा निर्वाचित भएदेखि नै सरकारी सुविधा नलिने घोषणा गरेका हमालले हालसम्म प्राप्त सम्पूर्ण रकम शिक्षा, गौ–सेवा र असहायहरूको सहयोगमा खर्च गर्दै आएका हुन् ।

हमालले आर्थिक वर्ष २०७८\०७९ मा प्राप्त गरेको १ लाख ३७ हजार २ सय ७३ रुपैयाँ पूर्ण रूपमा खर्च गरिएको थियो । जसमध्ये गौ संरक्षण सेवा समितिलाई ५५ हजार ६ सय ८७ र दक्षिणकाली आधारभूत बहिरा आवासीय विद्यालयलाई ८१ हजार ५ सय ८६ रुपैयाँ नगद सहयोग गरिएको थियो ।

यस्तै आर्थिक वर्ष २०७९\०८० मा प्राप्त ९ लाख ३६ हजार ४ सय रुपैयाँमध्ये २ लाख ६७ हजार ८ सय रुपैयाँ बराबरको न्यानो कपडा सहयोग गरिएको थियो । यसबाट दृष्टि फाउन्डेसन, मानव सेवा आश्रम, आमाको माया छात्राबास, खगेन्द्र नवजीवन केन्द्र र दक्षिणकाली विद्यालयका गरी कुल २६९ जना आश्रितहरू लाभान्वित भएका थिए ।

यस्तै आर्थिक वर्ष २०८०\०८१ मा कक्षा ८ को वार्षिक परीक्षामा शून्य नतिजा आएका १७ वटा सामुदायिक विद्यालयका ३ हजार ४ सय ८९ जना विद्यार्थीहरूलाई कापी, पेन्सिल, कटर र इरेजर जस्ता शैक्षिक सामग्री वितरण गरिएको थियो । जसमा ९ लाख ९२ हजार ६ सय ५ रुपैयाँ खर्च भएको थियो ।

यस्तै चालु आर्थिक आर्थिक वर्ष २०८१\०८२ मा प्राप्त रकमबाट धनगढीका ४७ वटा सामुदायिक विद्यालयमा अध्ययनरत ७ हजार ४ सय ७५ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ । जस अन्तर्गत १० लाख रुपैयाँ बराबरको स्टेशनरी सामग्री शुक्रवार हमालले वितरण गरेका हुन ।
यस्तै आगामी २०८२\०८३ मा पनि प्राप्त हुने सेवा सुविधाको रकम पनि सामाजिक काममै खर्च गर्ने गरी तयारी भइरहेको हमालले बताए । थप ५ लाख व्यक्तिगत सहयोग गरी ४४ लाख पु-याइने उनको योजना छ ।

नगर प्रमुख हमालको सेवा–सुविधाबाट हालसम्म कुल ३८ लाख ८२ हजार ८ सय ७३ रुपैयाँ प्राप्त भएको छ । हालसम्म २३ लाख ९७ हजार भन्दा बढी खर्च भइसकेको र बाँकी रहेको रकममा नगर प्रमुख हमालले आफ्नो व्यक्तिगत तर्फबाट ५ लाख १७ हजार १ सय २६ रुपैयाँ थप गर्ने घोषणा गरेका छन् । यसरी आफ्नो सेवा सुविधा र व्यक्तिगत सहयोग समेत गरी कुल ४४ लाख रुपैयाँ सामाजिक विकासका क्षेत्रमा वितरण गरिने उनले जानकारी दिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.