सरकार संविधान र लोकतान्त्रिक मूल्यविपरीत काम गरिरहेको छ : विश्वप्रकाश शर्मा

धनगढी  : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा ले वर्तमान सरकारका गतिविधिप्रति तीव्र असन्तुष्टि जनाउँदै संविधान र लोकतान्त्रिक मूल्यविपरीत काम भइरहेको आरोप लगाएका छन्।

कांग्रेसको ‘जरा अभियान’ अन्तर्गत धनगढीमा आयोजित कार्यक्रममा बोल्दै उनले सुकुम्बासी र भूमिहीनमाथि सरकारले दमन गरिरहेको बताएका हुन्।
“सरकार अहिले अनियन्त्रित भएर टहरा भत्काइरहेको छ,” उनले भने, “मन्दिरको घण्टी बजाउँदै सरकारमा गएको सरकारले अहिले मन्दिर र घण्टी नै भत्काइरहेको छ।”

उनले भूमिहीन र सुकुम्बासीको समस्या समाधान नगरी बलपूर्वक हटाउने कार्य अमानवीय भएको टिप्पणी गरे। “पहिले उनीहरूको उचित व्यवस्थापन हुनुपर्छ, त्यसपछि मात्रै अन्य प्रक्रिया अघि बढाउनुपर्छ,” उनले जोड दिए।

उपसभापति शर्माले सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्तिको विषयले समेत सरकारको नियतमाथि प्रश्न उठाएको बताए। सरकारका सकारात्मक काममा कांग्रेसको समर्थन रहने तर संविधान र लोकतन्त्रविरुद्धका गतिविधिमा भने पार्टी मौन नबस्ने उनको भनाइ थियो।
“संविधानभित्र रहँदासम्म मात्रै नयाँ बनेको सरकारलाई हाम्रो साथ, सहयोग र समर्थन रहन्छ,” उनले भने, “तर सरकारका गतिविधि त्योअनुसार देखिँदैनन्।”
उनले लोकतन्त्रलाई नियन्त्रणमा राखेर राज्यका सबै निकाय कब्जा गर्ने नीति सरकारले लिएको आरोपसमेत लगाए। “त्यस्तो प्रवृत्तिमा हाम्रो समर्थन रहँदैन,” उनले स्पष्ट पारे।

कार्यक्रममा उनले नेपाली कांग्रेसलाई नयाँ ढंगले अघि बढाउन आत्मालोचना र सुधार आवश्यक रहेको पनि बताए। पार्टी विशेष महाधिवेशनमार्फत रूपान्तरणको दिशामा अघि बढिरहेको उल्लेख गर्दै उनले पुरानो शैलीले अब राजनीति अगाडि बढ्न नसक्ने धारणा राखे।

यसैबीच, कांग्रेस नेतृत्वबारे बोल्दै उनले सभापतिमा गगन थापा आए पनि शेरबहादुर देउवा को योगदान उत्तिकै स्मरणीय रहने बताए। देश निर्वाचनतर्फ उन्मुख भइरहेको उल्लेख गर्दै उनले नेता–कार्यकर्तालाई जनतामाझ केन्द्रित भएर सक्रिय हुन निर्देशनसमेत दिएका थिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.