अत्तरिया : कैलालीको पर्यटकीय सम्भावना बोकेको बुढीतोला क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको “बुढीतोला पर्यटन महोत्सव” आइतबार सम्पन्न भएको छ। वैशाख १७ गतेदेखि सुरु भएको महोत्सवले स्थानीय तथा बाह्य पर्यटकको उल्लेखनीय आकर्षण प्राप्त गरेको आयोजकले जनाएको छ।
“प्रकृति, संस्कृति र समृद्ध संगम, बुढीतोला हाम्रो पहिचान” भन्ने मूल नारासहित आयोजना गरिएको महोत्सवको समापन कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दिर्घ नारायण कोइराला प्रमुख अतिथि थिए।
बुढीतोला क्षेत्र पर्यटन प्रवर्द्धन तथा बजार व्यवस्थापन समितिको आयोजनामा सम्पन्न महोत्सव विशुद्ध आर्थिक लाभभन्दा माथि उठेर दीर्घकालीन पर्यटन विकास, स्थानीय संस्कृति संरक्षण तथा आर्थिक गतिविधि विस्तार गर्ने उद्देश्यले केन्द्रित रहेको आयोजक समितिले जनाएको छ।
समापन कार्यक्रममा बोल्दै सचिव कोइरालाले बुढीतोला क्षेत्र पर्यटन विकासका लागि सरकारी स्तरबाट आवश्यक पहल गरिने विश्वास व्यक्त गरेका थिए। सो अवसरमा आयोजकले पर्यटन पूर्वाधार विकासको माग राख्दै मन्त्रालयसमक्ष पाँच बुँदे मागपत्र प्रस्तुत गरेको थियो। सचिव कोइरालालाई स्थानीय परम्पराअनुसार पाँच किलोको फूलमाला लगाएर सम्मान समेत गरिएको थियो।
महोत्सवमा नेपालका विभिन्न जिल्लाका साथै भारतका विभिन्न क्षेत्रबाट समेत पर्यटक तथा अवलोकनकर्ताको सहभागिता रहेको थियो। भारतीय पर्यटकहरूले बुढीतोलाको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र स्थानीय आतिथ्यताप्रति सकारात्मक प्रतिक्रिया दिएका थिए। उनीहरूले भारतका विभिन्न स्थानमा बुढीतोलाको प्रचारप्रसार गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए।
महोत्सव अवधिभर स्थानीय घरेलु उत्पादन, पहाडी क्षेत्रका परिकार, सांस्कृतिक भेषभूषा, लोककला तथा पर्यटन सम्भावनालाई झल्काउने विविध कार्यक्रम प्रस्तुत गरिएको थियो। स्थानीय व्यवसायीलाई प्रोत्साहन गर्दै आर्थिक गतिविधि बढाउने लक्ष्यका साथ सञ्चालन गरिएको महोत्सवले बुढीतोला क्षेत्रलाई पर्यटनको नयाँ गन्तव्यका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको स्थानीयवासीको विश्वास रहेको छ।
आयोजक समितिका अनुसार महोत्सवले बुढीतोलाको पर्यटन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण योगदान पुर्याएको छ।