अत्तरिया खानेपानीको मतगणना अन्तिम चरणमा, अध्यक्षमा राजेन्द्र खड्काको जितको नजिक

अत्तरिया  : कैलालीको अत्तरिया स्थित अत्तरिया साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था को नयाँ कार्यसमिति चयनका लागि सम्पन्न निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ।

सोमबार बिहानसम्म २ हजार ५ सय मत गणना सकिँदा अध्यक्ष पदका उम्मेदवार राजेन्द्र खड्काले स्पष्ट अग्रता कायम राखेका छन्। सुरुदेखि नै अग्रता बनाएका खड्काले हालसम्म १ हजार २४ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी गणेश शाहले ६ सय ६१ मत ल्याउँदा हर्क शाहले ४ सय ६९ मत प्राप्त गरेका छन्।

अब केवल २ सय ७५ मत गणना गर्न बाँकी रहँदा खड्काले प्रतिस्पर्धीभन्दा ३ सय ६३ मतको बलियो अग्रता बनाएकाले उनको जित लगभग सुनिश्चित भएको देखिएको छ।

५ हजार ७ सय ४२ उपभोक्ता सदस्य रहेको संस्थाको नयाँ नेतृत्व चयनका लागि शनिबार भएको निर्वाचनमा २ हजार ७ सय ७५ मत खसेको निर्वाचन समितिले जनाएको छ। मतगणना अन्तिम चरणमा पुगेसँगै अत्तरियामा चुनावी माहोल थप चासोपूर्ण बनेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.