सीमा विवादले हिंसात्मक रूप लिँदा हुम्ला–बाजुरा तनाव चुलियो

हुम्ली स्थानीयको आक्रमणमा बाजुराका प्रमुख प्रशासकीय अधिकृतसहित ५ जना घाइते, भ्रमण टोली बीच बाटोबाटै फर्कियो

बाजुरा  : बाजुरा र हुम्लाबीच लामो समयदेखि कायम सीमा विवादले पुनः तनावपूर्ण रूप लिएको छ। बाजुराको हिमाली गाउँपालिका–३ अन्तर्गत पर्ने लाम्पाटा क्षेत्रमा हुम्लाका स्थानीय बासिन्दा र भ्रमण टोलीबीच भएको झडपमा बाजुराका प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जना घाइते भएका छन्।

घटना त्यसबेला भएको हो, जब धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल नेतृत्वको टोली “हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौं” अभियान अन्तर्गत अपि–सैपाल हिमालको बेसक्याम्प ‘रानी सैन’ तर्फ जाँदै थियो। टोलीमा हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्ल, उपाध्यक्ष राजकला सार्की, प्रमुख प्रशासकीय अधिकृत तथा अन्य प्रतिनिधिसहित करिब ४० जना सहभागी थिए।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार ड्रोनमार्फत दृश्य खिच्ने क्रममा हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थाली गाउँका स्थानीयहरू आक्रोशित बनेपछि विवाद चर्किएको हो। प्रारम्भिक वादविवाद केहीबेरमै हातपातमा परिणत भएको प्रहरीले जनाएको छ।

आक्रमणमा परी हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुल बहादुर थापा, वडा सदस्य पेमा गारा गुरुङ, लक्ष्मी गुरुङ, मिनु कुँवर तथा प्रहरी जवान महेश धामी घाइते भएका छन्। घाइतेहरूको ढाड, गर्धन, छाती र खुट्टामा चोट लागेको भए पनि अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरी निरीक्षक नरेश बहादुर शाहीका अनुसार करिब तीन सयको संख्यामा भेला भएका स्थानीयहरू उग्र रूपमा प्रस्तुत भएपछि सुरक्षा चुनौती बढेको थियो। त्यसपछि भ्रमण टोलीलाई सुरक्षाका लागि गन्तव्यसम्म पुग्न नदिई बीच बाटोबाटै फर्काइएको बताइएको छ।

दशकौँदेखिको सीमा विवाद फेरि सतहमा
लाम्पाटा, च्याचौर र रानी सैन क्षेत्रलाई लिएर बाजुरा र हुम्लाबीच लामो समयदेखि विवाद रहँदै आएको छ। हुम्लाका केही स्थानीयले उक्त भूभाग आफ्नो जिल्लामा पर्ने दाबी गर्दै आएका छन् भने नापी, लालपुर्जा र प्रशासनिक अभिलेखले ती क्षेत्र बाजुरा जिल्लाअन्तर्गत रहेको देखाउँछन्।
यसअघि पनि यही विवादकै कारण लाम्पाटास्थित च्याचौरमा निर्माणाधीन अस्थायी प्रहरी चौकीलाई लिएर जेठ ३ गते स्थानीयबीच तनाव उत्पन्न भएको थियो। पछिल्लो घटनाले सीमाविवाद केवल प्रशासनिक विषयमा सीमित नरही सामाजिक र सुरक्षात्मक चुनौतीका रूपमा उभिएको संकेत दिएको छ।

दोषीमाथि कारबाहीको माग
घटनापछि बाजुराका स्थानीयबासी तथा विभिन्न सामाजिक समूहहरूले आक्रमणमा संलग्न व्यक्तिहरूको पहिचान गरी तत्काल कानुनी कारबाही गर्न माग गरेका छन्। सामाजिक सञ्जालमा समेत घटनाको व्यापक आलोचना भइरहेको छ।
स्थानीय सरोकारवालाहरूले दुई जिल्लाबीचको सीमा विवाद समाधानका लागि संघीय सरकार, गृह प्रशासन तथा नापी विभागले दीर्घकालीन र स्पष्ट निर्णय लिनुपर्ने बताएका छन्। अन्यथा यस्ता घटना पुनः दोहोरिन सक्ने चेतावनीसमेत दिइएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.