अत्तरिया : सुदूरपश्चिमको प्रमुख शैक्षिक केन्द्र अत्तरियामा अवस्थित सत्यवती एकेडेमी पछिल्लो समय गुणस्तरीय शिक्षा, आधुनिक प्रविधि, खेलकुद तथा संस्कारयुक्त वातावरणको समन्वय गर्ने उत्कृष्ट शैक्षिक संस्थाको रूपमा स्थापित हुँदै गएको छ । वि.सं. २०६९ मा स्थापना भएको यस एकेडेमीले “शिक्षासँगै संस्कार” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा निरन्तर योगदान दिँदै आएको छ ।
हाल विद्यालयमा दुई हजार दुई सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । विद्यालयले केवल किताबी ज्ञानमा सीमित नभई विद्यार्थीहरूको सर्वाङ्गीण विकास, नेतृत्व क्षमता, नैतिकता तथा आत्मनिर्भर जीवनशैली निर्माणलाई विशेष प्राथमिकता दिएको छ ।
पढाइसँगै व्यवहारिक र व्यवसायिक सीप विकास
सत्यवती एकेडेमीले नयाँ शैक्षिक सत्र २०८३ का लागि कक्षा ११ विज्ञान संकायमा भर्ना अभियान सुरु गर्दै यस वर्षदेखि पढाइसँगै व्यवहारिक तथा व्यवसायिक सीप विकासलाई विशेष जोड दिएको जनाएको छ ।
विद्यालयका अनुसार आइतबारको सार्वजनिक बिदालाई उपयोग गर्दै विद्यार्थीहरूलाई विभिन्न व्यवसायिक क्षेत्रको अवलोकन, प्रोजेक्ट कार्य तथा व्यवहारिक अभ्यासमा सहभागी गराइनेछ । यस कार्यक्रमले विद्यार्थीहरूलाई आत्मनिर्भर बन्न प्रेरित गर्नुका साथै व्यवहारिक जीवनका लागि सक्षम बनाउने लक्ष्य राखेको छ ।

प्रविधिमैत्री स्मार्ट कक्षा र आधुनिक शिक्षण प्रणाली
आधुनिक शिक्षण पद्धति र प्रविधिको प्रयोगमा सत्यवती एकेडेमी अग्रणी देखिन्छ । विद्यालयका प्रत्येक कक्षाकोठामा स्मार्ट बोर्ड, इन्टरनेट तथा एसी सुविधा जडान गरिएको छ ।
विद्यालयमा अत्याधुनिक कम्प्युटर ल्याब, भौतिकशास्त्र, रसायनशास्त्र तथा जीवविज्ञान प्रयोगशालासहित स्टिम र रोबोटिक्स ल्याब सञ्चालनमा छन् । यी सुविधाले विद्यार्थीहरूलाई अनुसन्धान, नवप्रवर्तन तथा विश्वस्तरीय प्रतिस्पर्धाका लागि सक्षम बनाइरहेका छन् ।

खेलकुद र अतिरिक्त क्रियाकलापमा विशेष प्राथमिकता
विद्यालयले “स्वस्थ शरीरमा स्वस्थ मस्तिष्क” भन्ने मान्यतालाई आत्मसात गर्दै खेलकुद तथा अतिरिक्त क्रियाकलापलाई पनि उत्तिकै महत्त्व दिएको छ ।
फुटबल, क्रिकेट, फुटसल, टेबलटेनिस, ब्याडमिन्टन लगायतका खेलका लागि आवश्यक पूर्वाधार विद्यालयमा उपलब्ध छन् । संगीत तथा कलामा रुचि भएका विद्यार्थीहरूका लागि प्रशिक्षकमार्फत नियमित प्रशिक्षण सञ्चालन हुँदै आएको छ । विभिन्न रनिङ सिल्ड तथा बाह्य प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई विद्यालयले छात्रवृत्ति र सम्मान प्रदान गर्दै आएको छ ।

संस्कारयुक्त शिक्षामा जोड
सत्यवती एकेडेमीले शैक्षिक उपलब्धिसँगै अनुशासन, नैतिकता, सामाजिक उत्तरदायित्व तथा व्यवहारिक शिक्षालाई पनि विशेष प्राथमिकतामा राखेको छ । विद्यार्थीहरूलाई जिम्मेवार र संस्कारयुक्त नागरिक बनाउने उद्देश्यले विभिन्न सचेतनामूलक तथा व्यवहारिक कार्यक्रम सञ्चालन भइरहेका छन् ।

सुविधासम्पन्न पुस्तकालय र अध्ययन वातावरण
विद्यालयमा व्यवस्थित तथा सुविधासम्पन्न पुस्तकालय सञ्चालनमा रहेको छ, जहाँ विद्यार्थीहरूले शान्त वातावरणमा अध्ययन तथा अनुसन्धान गर्न सक्ने व्यवस्था गरिएको छ । पुस्तकालयले विद्यार्थीहरूको ज्ञान अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्दै आएको विद्यालयले जनाएको छ ।

छात्रवृत्ति र सम्मान कार्यक्रम
विद्यार्थीहरूलाई थप प्रोत्साहन गर्न विद्यालयले हरेक वर्ष छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रम सञ्चालन गर्दै आएको छ । एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई ग्रेडका आधारमा छात्रवृत्ति प्रदान गरिन्छ भने कक्षा १२ मा शीर्ष स्थान हासिल गर्ने विद्यार्थीलाई नगद २० हजार रुपैयाँ र ‘ए प्लस’ ल्याउने विद्यार्थीलाई नगद १० हजार रुपैयाँसहित सम्मान गरिने व्यवस्था रहेको छ ।

अनुभवी शिक्षक र उत्कृष्ट शैक्षिक उपलब्धि
विद्यालयका सञ्चालक वीरबहादुर कडायतका अनुसार सत्यवती एकेडेमीले विशेषगरी विज्ञान संकायमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । कक्षा ११ र १२ मा विज्ञान संकायको पठनपाठन सञ्चालन गरिरहेको विद्यालयको यो छैटौँ ब्याच हो ।

विद्यालयमा एमफिल तथा पिएचडी गरेका अनुभवी शिक्षकहरूद्वारा अध्यापन हुँदै आएको छ । विद्यार्थीहरूको सिकाइ प्रभावकारी बनाउन मुख्य विषयहरूको कक्षा कम्तीमा १ घण्टा ५ मिनेट सञ्चालन गरिने गरिएको छ ।
विद्यालयले मेडिकल तथा इन्जिनियरिङ अध्ययनका लागि विशेष तयारी कक्षा पनि सञ्चालन गर्दै आएको छ । प्रत्येक महिनाको अन्तिममा मेडिकल तयारी कक्षा सञ्चालन गरिनुका साथै भाइब्रेन्ट संस्थासँगको सहकार्यमा विशेषज्ञ प्राध्यापकमार्फत विशेष कक्षा सञ्चालन गरिने विद्यालयले जनाएको छ ।
गत वर्ष विद्यालयबाट अध्ययन गरेका विद्यार्थीमध्ये एक जना एमबिबिएस, एक जना आयुर्वेदिक चिकित्साशास्त्र तथा दुई जना इन्जिनियरिङ अध्ययनमा नाम निकाल्न सफल भएका थिए ।
गुणस्तरीय शिक्षा, आधुनिक प्रविधि, अनुशासित वातावरण, संस्कारयुक्त शिक्षण प्रणाली तथा अतिरिक्त क्रियाकलापको प्रभावकारी समन्वयका कारण सत्यवती एकेडेमी सुदूरपश्चिमकै उत्कृष्ट शैक्षिक गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ ।