धनगढी : जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई तथा पहाडी क्षेत्रमा अत्यधिक गर्मी बढ्ने चेतावनी दिएको छ। महाशाखाका अनुसार आगामी आइतबारसम्म केही स्थानमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्न सक्ने सम्भावना रहेको छ।
महाशाखाले शुक्रबार साँझ जारी गरेको ‘तातो दिन तथा तातो लहरसम्बन्धी बुलेटिन’ अनुसार लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागमा आगामी तीन दिनसम्म मध्यम स्तरको तातो लहर चल्ने सम्भावना छ भने पहाडी क्षेत्रमा पनि अत्यधिक गर्मी महसुस हुने अनुमान गरिएको छ।
विभागले सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक दिउँसोको समयमा घरबाहिर ननिस्किन, पर्याप्त पानी पिउन, हल्का तथा सूती कपडा लगाउन र घामबाट जोगिने उपाय अपनाउन आग्रह गरेको छ। विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरूलाई बढी सावधानी अपनाउन सुझाव दिइएको छ।
मौसमविद्का अनुसार अत्यधिक गर्मीका कारण थकान, कमजोरी, अत्यधिक तिर्खा लाग्ने, टाउको दुख्ने, चक्कर लाग्ने, मांसपेशी दुख्ने, बान्ता हुने तथा बेहोस हुनेजस्ता स्वास्थ्य समस्या देखिन सक्छन्।
महाशाखाले तातो हावा र लुबाट जोगिन स्थानीय तह तथा स्वास्थ्य निकायलाई पनि तयारी अवस्थामा रहन अनुरोध गरेको छ। लगातार बढ्दो तापक्रमले जनजीवन प्रभावित हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।