धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह ले युवाका आवाज, योजना र मागलाई प्रदेश सरकारको नीति तथा कार्यक्रममा समावेश गर्न सरकार सकारात्मक रहेको बताएका छन्।
धनगढीमा शनिबारदेखि सुरु भएको “सुदूरपश्चिम प्रदेश युवा सम्मेलन–२०२६” को उद्घाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले सरकार अहिले नीति तथा कार्यक्रम निर्माणको चरणमा रहेको उल्लेख गर्दै सम्मेलनबाट उठ्ने सुझाव र निष्कर्षलाई विशेष प्राथमिकताका साथ समेटिने बताए।
“आजका युवाले प्रविधिको प्रयोगमार्फत नयाँ चेतना र सम्भावनाको ढोका खोलेका छन्,” मुख्यमन्त्री शाहले भने, “तर प्रविधिको दुरुपयोग र त्यसबाट सिर्जित चुनौतीले युवामा नकारात्मक असर पनि देखिएको छ।” उनले डिजिटल युगमा अवसरसँगै सचेतना आवश्यक रहेकोमा जोड दिए।
मुख्यमन्त्री शाहले संघीय संसद् तथा विभिन्न तहमा युवाको प्रतिनिधित्व बढ्दै गएको उल्लेख गर्दै विगतमा युवाका क्षेत्रमा हुन नसकेका काम अब क्रमशः अगाडि बढ्ने विश्वास व्यक्त गरे। प्रदेश सरकार युवा सहभागिता र नेतृत्व विकासमा प्रतिबद्ध रहेको उनको भनाइ थियो।
“यंग पिपुल कमिङ टुगेदर टु स्ट्रेन्थेन डिजिटल सिभिक स्पेस” भन्ने मूल नारासहित सुरु भएको दुई दिने सम्मेलनमा सुदूरपश्चिमका नौवटै जिल्लाबाट युवाहरूको उल्लेख्य सहभागिता रहेको छ। सम्मेलनमा डिजिटल नागरिकता, युवा नेतृत्व, नीति निर्माणमा युवाको सहभागिता तथा नागरिक स्पेस सुदृढीकरणका विषयमा गहन छलफल हुने आयोजकले जनाएको छ।
कार्यक्रममा देवी प्रसाद खनाल ले बागमती प्रदेशपछि सुदूरपश्चिममा युवा सम्मेलन आयोजना गरिएको जानकारी दिँदै आगामी दिनमा कर्णालीसहित अन्य प्रदेशमा पनि सम्मेलन सञ्चालन गरिने बताए। उनका अनुसार प्रदेश सम्मेलनबाट उठेका सुझाव, माग र निष्कर्षलाई एकीकृत गर्दै “सुदूरपश्चिम घोषणा पत्र” सार्वजनिक गरिनेछ। उक्त घोषणा पत्रमार्फत युवाका मुद्दालाई नीति निर्माण तहसम्म प्रभावकारी रूपमा पु-याउने लक्ष्य रहेको उनले बताए।
गैरसरकारी संस्था महासंघ नेपाल, युवा अभियान तथा विभिन्न साझेदार संस्थाको सहकार्यमा आयोजना गरिएको युवा सम्मेलन जेठ ९ र १० गतेसम्म धनगढीमा सञ्चालन हुनेछ। सम्मेलनले डिजिटल युगमा युवाको भूमिका, नेतृत्व र नीतिगत सहभागिताबारे महत्वपूर्ण बहस सिर्जना गर्ने अपेक्षा गरिएको छ।