धनगढी : कैलालीको धनगढीस्थित ठूला अस्पताल, उद्योग र व्यापारिक प्रतिष्ठानसहित ५३ वटा फर्मले लामो समयदेखि राज्यलाई कर नतिरेको खुलासा भएको छ।
आन्तरिक राजस्व कार्यालय, धनगढीले मंगलबार सार्वजनिक सूचना जारी गर्दै बक्यौता कर नतिर्ने व्यवसायीहरूको नाम सार्वजनिक गरेको हो।
कार्यालयका अनुसार पटक–पटक ताकेता गर्दा पनि अटेरी गर्ने, सम्पर्कविहीन हुने तथा कर दाखिला नगर्ने फर्महरूविरुद्ध अब कडा कानुनी प्रक्रिया अघि बढाइने भएको छ। सूचनामा १५ दिनभित्र बक्यौता रकम नबुझाए चल तथा अचल सम्पत्ति रोक्का, बैंक खाताबाट रकम कट्टा, लिलाम बिक्रीदेखि व्यवसाय बन्दसम्मका कारबाही हुन सक्ने चेतावनी दिइएको छ।
सार्वजनिक गरिएको सूचीमा माया नोभा हस्पिटल प्रालि, राजश्री फूड प्रोडक्ट्स, सुदूर फुड इण्डष्ट्रिज, शुभश्री प्यालेस प्रालि, होटल डिभोटी एण्ड रेष्टरेन्ट बारलगायतका चर्चित व्यवसायिक संस्था समावेश छन्।
आन्तरिक राजस्व कार्यालयले मु.अ.कर ऐन, २०५२ तथा आयकर ऐन, २०५८ अन्तर्गत कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ। कार्यालयका अनुसार ती फर्महरूले आयकर र मूल्य अभिवृद्धि कर (भ्याट) बापतको रकम लामो समयदेखि दाखिला नगरी बक्यौता राखेका छन्।
राजस्व कार्यालयको यो कदमले धनगढी तथा सुदूरपश्चिम क्षेत्रमा कर अनुपालनको अवस्था कमजोर रहेको संकेत गरेको छ। एकैपटक ५३ वटा फर्म बक्यौतामा देखिनुले व्यवसायिक क्षेत्रमा कर छल्ने प्रवृत्ति अझै व्यापक रहेको देखिएको छ।
कर विज्ञहरूका अनुसार कर शिक्षाको अभाव, जटिल प्रशासनिक प्रक्रिया तथा प्रभावकारी अनुगमन नहुँदा साना तथा मझौला व्यवसायहरूमा कर नतिर्ने प्रवृत्ति बढ्दै गएको छ।
कार्यालयले सबै बक्यौतादार फर्मलाई तत्काल सम्पर्कमा आई बाँकी कर बुझाउन आग्रह गरेको छ। अन्यथा कानुनी कारबाही अनिवार्य हुने स्पष्ट चेतावनी दिइएको छ।