अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा कार्यरत नगर प्रहरी सन्धुकुमार चौधरीले पुनः एक साहसिक उद्धार कार्य सम्पन्न गरेका छन्। विपद् तथा आकस्मिक अवस्थामा सक्रिय रूपमा खटिँदै आएका उनले यसपटक वडा नं. ३ चौकीडाँडा स्थित एक मिलबाट घामन सर्पको सफल उद्धार गरेका हुन्।
स्थानीयवासीले मिलभित्र सर्प देखिएपछि त्रास फैलिएको अवस्थामा नगर प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ नगर प्रहरी सन्धु चौधरी घटनास्थलमा पुगेर निकै सतर्कता अपनाउँदै सर्पलाई सुरक्षित रूपमा नियन्त्रणमा लिएका थिए। उद्धार गरिएको घामन सर्पलाई मानव बस्तीबाट टाढा प्राकृतिक जंगल क्षेत्रमा सुरक्षित रूपमा छाडिएको जनाइएको छ।
घामन सर्प विषालु नभए पनि यसको आकार र तीव्र गतिका कारण मानिसहरूमा डर उत्पन्न हुने गर्दछ। यस्ता अवस्थामा जोखिम मोलेर गरिने उद्धार कार्यले स्थानीय नागरिकलाई राहत मिल्नुका साथै वन्यजन्तु संरक्षणमा समेत टेवा पुग्ने गरेको छ।
नगर प्रहरी सन्धु कुमार चौधरीले पछिल्लो समय सर्प उद्धारसहित विभिन्न विपद् व्यवस्थापन तथा जनसुरक्षासम्बन्धी कार्यमा अग्रपङ्क्तिमा रहेर सेवा दिँदै आएका छन्। उनको साहस, तत्परता र जिम्मेवार कार्यशैलीप्रति स्थानीयवासीले प्रशंसा व्यक्त गरेका छन्।
यस घटनाले नगर प्रहरीप्रतिको नागरिक विश्वास अझ मजबुत बनेको स्थानीयले बताएका छन्। गोदावरी नगरपालिकामा जनताको सुरक्षाका लागि नगर प्रहरीको सक्रियता उदाहरणीय बन्दै गएको छ।