अत्तरिया : कैलालीको गोदावरी नगरपालिका–१ वनखेत क्षेत्रमा अटोको ठक्करबाट एक महिलाको ज्यान गएको छ। शुक्रबार महेन्द्र राजमार्गमा पूर्वबाट अत्तरियातर्फ आउँदै गरेको भे १ ह ०८७० नम्बरको अटोले पैदलयात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको हो।
दुर्घटनामा स्थानीय ६० वर्षीया पशुपति नेपाली गम्भीर घाइते भएकी थिइन्। उनलाई तत्काल उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनापछि अटो चालक गोदावरी नगरपालिका–११ ओलानी निवासी ५५ वर्षीय प्रेम परियारलाई नियन्त्रणमा लिइएको छ। दुर्घटनामा संलग्न अटोसमेत प्रहरीले नियन्त्रणमा राखेको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।