गोदावरी खोलाको बाढीमा दुई महिला बगे, एकको शव फेला-अर्कीको खोजी जारी

अत्तरिया  : कैलालीको गोदावरी नगरपालिकामा बिहिबार राति परेको अविरल वर्षापछि आएको बाढीले दुई महिलालाई बगाउँदा एक जनाको मृत्यु भएको छ भने अर्की अझै बेपत्ता रहेकी छन्।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी हिरा सिंह महराका अनुसार पहाडी क्षेत्रमा परेको निरन्तर वर्षाका कारण गोदावरी खोलामा आएको आकस्मिक बाढीले गोदावरी नगरपालिका–४ की दुई महिलालाई बगाएको थियो।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली परिचालन गरिएको थियो। खोज तथा उद्धारका क्रममा गोदावरी–४ स्थित मसानघाट नजिकै ५५ वर्षीया महेश्वरी धमला मृत अवस्थामा फेला परेकी छन्। त्यस्तै ४० वर्षीया कल्पना साउँद अझै बेपत्ता रहेकी छन् र उनको खोजी कार्य तीव्र रूपमा जारी रहेको प्रहरीले जनाएको छ।

प्रारम्भिक जानकारीअनुसार दुवै महिला बिहानीपख जंगलमा च्याउ टिप्न गएका बेला खोलामा आएको बाढीको चपेटामा परेका थिए। अचानक बढेको पानीको बहावले उनीहरूलाई बगाएको अनुमान गरिएको छ।

डिएसपी महराले थप प्रहरी टोली परिचालन गरी स्थानीयवासीसँगको समन्वयमा खोज तथा उद्धार अभियान निरन्तर सञ्चालन भइरहेको जानकारी दिए। घटनास्थल अस्थायी प्रहरी पोष्ट गोदावरीबाट करिब एक किलोमिटर पश्चिममा रहेको बताइएको छ।

अविरल वर्षासँगै नदी तथा खोलाहरूमा पानीको सतह बढ्दै गएकोले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन सुरक्षा निकायले आग्रह गरेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.