निजी सञ्चारमाध्यममाथिको विभेदकारी निर्णयविरुद्ध कैलालीमा पत्रकारहरूको दोस्रो चरणको धर्ना

धनगढी  : सरकारले निजी सञ्चारमाध्यमप्रति अपनाएको भनिएको विभेदकारी नीतिको विरोधमा नेपाल पत्रकार महासंघको केन्द्रीय परिपत्र अनुसार कैलालीमा दोस्रो चरणको शान्तिपूर्ण धर्ना कार्यक्रम सम्पन्न भएको छ।

जिल्ला प्रशासन कार्यालय कैलाली अगाडि आयोजित धर्नामा नेपाल पत्रकार महासंघ कैलाली शाखाका अध्यक्ष श्रवण देउवाको नेतृत्वमा जिल्लाभरका सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो। पत्रकारहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, नागरिकको सूचनाको अधिकारको सुनिश्चितता तथा निजी सञ्चारमाध्यममाथि प्रभाव पार्ने सरकारी निर्णय तत्काल फिर्ता लिन माग गरेका छन्।

धर्नामा सहभागी सञ्चारकर्मीहरूले प्रेसमाथिको हस्तक्षेप बन्द गर्न, संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रताको सम्मान गर्न तथा निजी सञ्चारमाध्यमविरुद्ध गरिएका निर्णयहरू खारेज गर्न सरकारसँग आग्रह गरेका थिए। उनीहरूले स्वतन्त्र र जिम्मेवार प्रेस लोकतन्त्रको आधारस्तम्भ भएकाले सञ्चार क्षेत्रलाई कमजोर बनाउने कुनै पनि कदम स्वीकार्य नहुने स्पष्ट पारे।

कार्यक्रमलाई सम्बोधन गर्दै महासंघ कैलाली शाखाका अध्यक्ष श्रवण देउवाले सरकारी विज्ञापन वितरणसम्बन्धी निर्णयले निजी सञ्चारमाध्यमलाई आर्थिक रूपमा कमजोर बनाउने संकेत गरेको आरोप लगाए। उनले यस्तो निर्णयले प्रेस स्वतन्त्रता र स्वतन्त्र पत्रकारितामाथि प्रत्यक्ष असर पर्ने भन्दै निर्णय फिर्ता नभएसम्म आन्दोलनका कार्यक्रम निरन्तर जारी रहने चेतावनी दिए।

नेपाल पत्रकार महासंघले केन्द्रीय स्तरबाट घोषणा गरेको चरणबद्ध आन्दोलनअन्तर्गत देशभर विभिन्न विरोध कार्यक्रम सञ्चालन भइरहेका छन्। सोही अभियानअनुसार कैलालीमा दोस्रो दिनको धर्ना कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो।

पत्रकारहरूले स्वतन्त्र प्रेसमाथिको कुनै पनि हस्तक्षेप लोकतान्त्रिक मूल्य, संविधानको भावना तथा नागरिकको सूचनाको अधिकारविरुद्ध हुने भन्दै सरकारलाई आफ्नो निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन्। साथै, प्रेस स्वतन्त्रताको संरक्षणका लागि आवश्यक परे थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनीसमेत दिएका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.