धनगढी : कैलालीको गोदावरी क्षेत्रमा वन अतिक्रमण हटाउने क्रममा वन कर्मचारीहरूले एक महिलाको स्वरोजगारको साधनका रूपमा रहेको टेम्पो भीरमा खसालेको घटनाप्रति चौतर्फी विरोध भएको छ ।
भीमदत्त राजमार्गमार्गअन्तर्गत गोदावरी नगरपालिका–४ बासपानीमा सडक छेउमा राखिएको स्थानीय ४४ वर्षीया धनादेवी धामीको टेम्पो जेठ २९ गते वन कर्मचारीहरूले हटाउने क्रममा भीरमा खसालेका थिए । सो घटनाको भिडियो जेठ ३० गते सामाजिक सञ्जालमा सार्वजनिक भएपछि यसले व्यापक चर्चा र आक्रोश पैदा गरेको छ ।
घटना सार्वजनिक भएपछि सुदूरपश्चिम प्रदेशसभा सदस्य सन्तोषकुमारी शर्मा थापाले घटनास्थलको निरीक्षण गर्दै निष्पक्ष छानबिनको माग गरेकी छन । वन अतिक्रमण हटाउने कानुनी प्रक्रिया भए पनि एक विपन्न महिलाको जीविकोपार्जनको साधन नै नष्ट गर्नु अमानवीय र अशोभनीय भएको उनले बताइन ।
पीडित धामीले सोही टेम्पोमा चिया, अण्डा, चाउचाउ र पानीलगायतका सामग्री बिक्री गरेर १० जनाको परिवार पाल्दै आएकी थिइन। उनका तीन छोरा मजदुरीका लागि भारतमा छन् भने घरमा श्रीमान् र बुहारी छन ।
डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामविचारी ठाकुरले भने वन अतिक्रमण हटाउन पटक पटक आग्रह गर्दा पनि अटेर गरेपछि हटाउने क्रममा अनियन्त्रित भई गाडी भीरमा खसेको दाबी गरेका छन । वन कार्यालयले विज्ञप्ति जारी गर्दै टेम्पो जीर्ण अवस्थामा रहेको, चक्का र इन्जिन बिग्रेको तथा भौगोलिक असन्तुलनका कारण दुर्घटना भएको जनाएको छ । तर स्थानीय जीवराज धामीले भने वन कार्यालयको दाबी गलत भएको र टेम्पो सञ्चालनकै अवस्थामा रहेको बताए ।
यसैबीच, घटनाको चौतर्फी आलोचना भएपछि प्रहरीले आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको छ । घटनामा संलग्न रहेको आशङ्कामा जिल्ला प्रहरी कार्यालय कैलालीले वन कार्यालयका १२ जना कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरेको छ ।
कैलाली प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले भिडियो, प्रत्यक्षदर्शीको भनाइ र सम्बन्धित पक्षको बयानका आधारमा अनुसन्धान भइरहेको र दोषीमाथि कानुनी प्रक्रिया अघि बढाइने जानकारी दिए । डिभिजन वन प्रमुख ठाकुरसँग पनि वन मन्त्रालय र जिल्ला प्रशासन कार्यालयमा राखेर सोधपुछ भइरहेको छ ।