असारमै सुक्न थाले धानका रोपो, कैलालीका किसान दोहोरो मारमा

अत्तरिया  : असार लागिसक्दा पनि पर्याप्त वर्षा नहुँदा कैलालीका किसान गम्भीर समस्यामा परेका छन्। रोपाइँ भइसकेका खेतमा धानका रोपो सुक्न थालेका छन् भने रोपाइँकै समयमा रासायनिक मलको अभावले किसान थप चिन्तित बनेका छन्। मनसुन कमजोर रहँदा खेतमा चर्को गर्मी र सुक्खाको असर देखिन थालेको छ।

भजनी नगरपालिका–५ लालबोझीका किसान खोजराम चौधरीले रोपाइँ सम्पन्न गरिसके पनि रोपो जोगाउन दिनहुँ संघर्ष गर्नुपरेको बताए। ग्रामीण क्षेत्रमा किसानहरूले जेठ अन्तिम सातादेखि नै रोपाइँ सुरु गरेका थिए। तर, असारको पहिलो सातासम्म पनि पर्याप्त वर्षा नहुँदा डिजेल खर्च गरेर सिँचाइ गर्न बाध्य भएका छन्। यसले धान उत्पादनको लागत उल्लेखनीय रूपमा बढाएको किसानहरूको गुनासो छ।

धनगढी उपमहानगरपालिका–१० जुगेडाका किसान रामदास रानाले अत्यधिक गर्मी र सुक्खाका कारण रोपेको खेतमै धाँजा परिसकेको बताए। सुक्खा लम्बिँदै जाँदा भूमिगत जलस्रोतमा समेत असर पर्न थालेको छ। बोरिङको पानी घट्दै जाँदा कतिपय किसानले रोपाइँ नै रोक्नुपरेको अवस्था आएको छ। कृषक प्रदीपकुमार चौधरीका अनुसार बोरिङ सुकेपछि खेतमा पानी पुर्‍याउन नसकिएकाले रोपाइँ बीचमै रोकिएको छ।

उता, जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्षको मनसुन असार ५ गते (जुन १९) नेपाल प्रवेश गरिसकेको भए पनि कमजोर अवस्थामा रहेकाले देशभर फैलिन अझै केही दिन लाग्ने अनुमान गरिएको छ।

सामान्यतया जुन १३ मा नेपाल भित्रिने मनसुन यस वर्ष छ दिन ढिलो आएको विभागले जनाएको छ। सुक्खासँगै किसानहरू मल अभावको समस्याले पनि पीडित छन्। धानको बेर्ना तयार भएर रोप्ने समय हुँदा समेत डिएपी र युरिया मल सहज रूपमा उपलब्ध नभएको किसानहरूको गुनासो छ। कृषि सामग्री कम्पनी लिमिटेडले सहकारी संस्था र बिक्री केन्द्रमार्फत मल वितरण भइरहेको बताए पनि वितरण प्रक्रिया र कोटा व्यवस्थापनका कारण अधिकांश किसानले समयमै मल पाउन नसकेको बताएका छन्।

कम्पनीका अनुसार डिएपी मल प्रतिवोरा २ हजार ३९४ रुपैयाँ र युरिया प्रतिवोरा ९४४ रुपैयाँमा बिक्री भइरहेको छ। सुदूरपश्चिम प्रदेशका लागि वार्षिक रूपमा युरिया १० हजार ६ सय मेट्रिक टन, डिएपी ७ हजार ८ सय मेट्रिक टन तथा पोटास ६ सय मेट्रिक टनको लक्ष्य निर्धारण गरिएको छ।
कृषि सामग्री कम्पनी लिमिटेड सुदूरपश्चिम प्रदेश प्रमुख नवलसिंह बोगटीले निर्धारित कोटाअनुसार मल वितरण भइरहेको दाबी गर्दै केही सहकारी संस्थाले अझै गोदामबाट मल नउठाएकाले ढिलाइ भएको बताए। उनका अनुसार हाल कैलालीमा युरिया १ हजार ७५५ मेट्रिक टन, डिएपी २ सय १३ मेट्रिक टन र पोटास २८१ मेट्रिक टन मौज्दात रहेको छ।

तर किसानहरूले भने गोदाममा मल मौज्दात हुँदाहुँदै पनि आफूहरूलाई सहज रूपमा उपलब्ध नगराइएको आरोप लगाएका छन्।

खेती संकटमा, किसानको चिन्ता बढ्दो

वर्षा अभाव, बढ्दो गर्मी, सिँचाइको अतिरिक्त खर्च र मलको कमीले कैलालीका किसान यस वर्ष दोहोरो संकटमा परेका छन्। समयमै पर्याप्त वर्षा नहुने र मल आपूर्ति सहज नबन्ने हो भने धान उत्पादनमा प्रत्यक्ष असर पर्ने तथा किसानको आर्थिक भार अझ बढ्ने देखिएको छ। कृषि प्रधान क्षेत्र मानिने कैलालीमा देखिएको यो अवस्था तत्काल सम्बोधन गर्न सम्बन्धित निकायको प्रभावकारी पहल आवश्यक देखिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.