गोदावरीमा भीरबाट टेम्पो फालेको घटना : पीडितलाई ५ लाख दिने सहमति

धनगढी  : कैलालीको गोदावरीमा वनका कर्मचारीले टेम्पो धकेलेर भीरबाट खसालेको घटना पीडितलाई ५ लाख क्षतिपुर्ती दिने सर्तमा टुङ्गिएको छ।

गोदावरी नगरपालिका ४ भीमदत्त राजमार्ग अन्तर्गत पर्ने बासपानीमा जेठ २९ गते दिउँसो डिभिजन वन कार्यालयका कर्मचारीले गोदावरीकै स्थानीय ४४ वर्षीया धनादेवी धामीको टेम्पो भीरबाट धकेलेर खसालिदिएका थिए।

त्यसको भिडिओ सार्वजनिक भएपछि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशनालयका निर्देशक डा हेमराज विष्टको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो।

समितिलाई घटनाको सत्यतथ्य छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेश गर्न समय सीमा तोकिएको थियो। जसको म्याद बुधबार सकिँदै छ। तर, त्यसपूर्व नै टेम्पो धनी पीडित धनादेवी धामीलाई ५ लाख क्षतिपूर्ती उपलब्ध गराउने सहमतिपछि विवाद सल्टिएको छानबिन समितिका संयोजक विष्टले जानकारी दिए।

पीडित धामीले भत्केका घर टहरा पुनर्निर्माण गरिदिनुपर्ने, आफूहरुलाई तत्काल होल्डिङ सेन्टरमा राख्ने व्यवस्था गर्नुपर्ने र १० लाख क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने माग गर्दै आएकी थिइन्। तर,धामीलाई कानुनी प्रक्रिया, अतिक्रमण हटाउनु पर्ने कर्मचारीको दायित्व हुने बारे संझाइ बुझाइ गरेपछि उनी पाँच लाखमा विवाद सल्टाउन सहमत भएकी हुन्। तर, अतिक्रमण हटाउने नाममा केही कर्मचारी आवेग र उत्तेजनामा आइ अनावश्यक बल प्रयोग गर्ने जस्ता केही गल्ती भएको हुँदा क्षतिपूर्ति दिनु परेको कुरा उनलाई सम्झाइएको थियो।

त्यस्तै सवारीका लागि प्रयोग हुने टेम्पो त्यसरी सडक किनारमा राखेर व्यापार गर्दा यातायात व्यवस्था कार्यालय बाट ५ हजारसम्म जरिवाना हुन सक्ने कुरा पनि उनलाई अवगत गराइएको थियो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.