गोदावरी नगरमा सर्पदंशको जोखिम बढ्दो, उपचार केन्द्र स्थापना आवश्यक

अत्तरिया  : वर्षायामको सुरुवातसँगै सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा सर्पदंशका घटना उल्लेख्य रूपमा बढ्न थालेका छन्। लगातारको वर्षा, झाडी तथा खेतबारीमा बढेको आर्द्रतासँगै सर्प बस्ती आसपास देखिन थालेपछि ग्रामीण क्षेत्रका नागरिक त्रसित बनेका छन्।

विशेषगरी जिल्ला कैलालीको गोदावरी नगरपालिकाको विभिन्न वडाहरुमा सर्पदंशको जोखिम उच्च रहेको छ। सर्पदंश उपचार केन्द्रको अभावका कारण समयमै उपचार नपाएर बिरामीले ज्यान गुमाउनुपर्ने अवस्था रहेको स्थानीयबासीहरुको गुनासो छ।

यस्तै जनप्रतिनिधिहरुले नगरमा स्वास्थ्य सेवामा सुधार गर्ने उद्देश्यले दुई बेड क्षमताको आइसीयू सेवा र सर्पदंश उपचार केन्द्र स्थापना गर्न माग गरेका छन्। वडामा सर्पको टोकाइका कारण पटक–पटक ज्यान जाने घटना भइरहेकाले सो समस्यालाई सम्बोधन गर्न प्रभावकारी स्वास्थ्य पूर्वाधार आवश्यक रहेको साथै सर्पदंशका कारण बालबालिका र वृद्धवृद्धाहरूको मृत्युले परिवारमा गहिरो असर पारिरहेको उल्लेख गर्दै सर्पदंश उपचार केन्द्रको स्थापना अत्यावश्यक रहेको बताएका छन्।

विशेषतया गोदावरी नगरपालिका वडा नं ३ मा रहेको मालाखेती अस्पताललाई केन्द्र बनाई नगरपालिकाका १२ वटै वडामा सेवा पुर्‍याउन सक्ने गरी उक्त केन्द्र निर्माण गर्न सम्बन्धीत निकायमा सुझाव दिएका छन्। विशेष गरी वडा नं. १०, ११, र १२ मा सर्पदंशको जोखिम बढी रहेको जानकारी दिंदै यसको उपचार केन्द्र स्थापना भएमा आफ्नो कार्यकाल सफल ठान्ने विश्वास व्यक्त गरेका छन् ।

साथै स्थानीयका अनुसार खुला खेतबारी, घाँसे मैदान, झाडी तथा फोहरमैला आसपासका बस्तीमा सर्पको गतिविधि बढेको छ। सर्पदंशका कारण केही व्यक्तिले ज्यान गुमाइसकेको र घाइते विभिन्न अस्पतालमा उपचाररत रहेको जनाइएको छ।

दुर्गम क्षेत्रमा विषहर (एन्टिभेनम) औषधिको अभाव, प्रशिक्षित स्वास्थ्यकर्मीको कमी तथा उपचार केन्द्र टाढा भएकाले बिरामीलाई समयमै अस्पताल पुर्‍याउन कठिन हुने गरेको स्थानीयको भनाइ छ। कतिपय अवस्थामा अस्पताल पुग्नुअघि नै बिरामीको मृत्यु हुने गरेको उनीहरूले बताएका छन्। समयमै एन्टिभेनम उपचार उपलब्ध गराउन सके अधिकांश सर्पदंशका बिरामीको ज्यान बचाउन सकिने हुन्छ।

सर्पदंशका घटनाले समुदायमा त्रासको वातावरण सिर्जना गरेको छ। विशेषगरी बालबालिका, वृद्धवृद्धा, महिला तथा खेतबारीमा दैनिक काम गर्ने किसानहरू उच्च जोखिममा रहेका छन्। रातिको समयमा पर्याप्त उज्यालोको अभाव, घर वरिपरि झाडी र फोहर रहनु तथा खुला स्थानमा सुत्ने चलनले समेत जोखिम बढाएको स्थानीयको भनाइ छ।

स्थानीयवासी तथा जनप्रतिनिधिहरूले जोखिमयुक्त क्षेत्रमा तत्काल सर्पदंश उपचार केन्द्र स्थापना गर्न सरकारसँग माग गरेका छन्। प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सर्पदंश उपचार केन्द्र, पर्याप्त एन्टिभेनम औषधि, प्रशिक्षित स्वास्थ्यकर्मी, एम्बुलेन्स सेवा तथा २४ सै घण्टा आकस्मिक उपचारको व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ।

त्यसैगरी विद्यालय, समुदाय र स्वास्थ्य संस्थामार्फत सर्पदंशसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन, जोखिमयुक्त बस्तीमा पूर्वसूचना प्रणाली विकास तथा आवश्यक स्वास्थ्य सामग्रीको पर्याप्त व्यवस्थापन गर्न सम्बन्धित निकायसँग आग्रह गरिएको छ।

हरेक वर्ष वर्षायाममा सर्पदंशका घटना दोहोरिने गरे पनि पर्याप्त पूर्वतयारी, सहज स्वास्थ्य पहुँच र जनचेतनाको अभावका कारण मानवीय क्षति निरन्तर भइरहेको देखिन्छ। त्यसैले संघ, प्रदेश र स्थानीय सरकारले समन्वयात्मक रूपमा दीर्घकालीन नीति तथा तत्काल कार्ययोजना कार्यान्वयन गरी सर्पदंश नियन्त्रण र प्रभावकारी उपचार सेवाको पहुँच विस्तार गर्नुपर्ने आवश्यकता अझ टड्कारो रूपमा देखिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.