अत्तरिया : अत्तरिया उद्योग वाणिज्य संघको आगामी निर्वाचनलाई लक्षित गर्दै युवा व्यवसायी रमेश भट्टराईले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी दाबी सार्वजनिक गरेका छन्।
लामो समयदेखि व्यवसायीहरूको हकहित, व्यावसायिक वातावरण सुधार तथा सामाजिक सेवामा सक्रिय रहँदै आएका भट्टराईले आगामी नेतृत्वका लागि आफू उपयुक्त उम्मेदवार रहेको बताएका छन्। उनले व्यवसायीहरूको साझा हित, संघको संस्थागत विकास र व्यावसायिक वातावरणलाई थप सुदृढ बनाउने प्रतिबद्धतासहित अध्यक्ष पदमा दाबी प्रस्तुत गरेका हुन्।
यही असार २७ र २८ गते हुने अत्तरिया उद्योग वाणिज्य संघको निर्वाचन तथा साधारणसभालाई लक्षित गर्दै भट्टराईले व्यवसायीहरूसँग भेटघाट, अन्तरक्रिया तथा छलफललाई तीव्र बनाएका छन्। उनले विभिन्न व्यवसायी समूहसँग सुझाव संकलन गर्दै आफ्नो चुनावी अभियानलाई औपचारिक रूपमा अघि बढाइरहेका छन्।
भट्टराई अत्तरिया उद्योग वाणिज्य संघको अघिल्लो कार्यकालमा सदस्य पदमा निर्वाचित भई काम गरिसकेका छन्। उनी अत्तरियाको महेन्द्रनगर रोडस्थित कालशैली फर्निचर उद्योगका सञ्चालक समेत हुन्।
यसपटक दर्जनौँ युवा व्यवसायीहरूको साथ, समर्थन र विश्वासका साथ अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने तयारीमा रहेका भट्टराईले संघलाई व्यवसायीमैत्री, पारदर्शी र परिणाममुखी संस्थाका रूपमा विकास गर्ने आफ्नो मुख्य लक्ष्य रहेको बताएका छन्।
निर्वाचनको मिति नजिकिँदै जाँदा अत्तरिया उद्योग वाणिज्य संघको चुनावी गतिविधि थप सक्रिय बन्दै गएको छ। अध्यक्षसहित विभिन्न पदका आकांक्षीहरूले व्यवसायीहरूसँग भेटघाटलाई तीव्र बनाएका छन्। यससँगै आगामी नेतृत्व कसले सम्हाल्ने भन्ने विषयमा व्यवसायी समुदायमा व्यापक चासो बढेको छ।