अत्तरिया : धनगढी उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाको पोषण अवस्था सुधार गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको एकीकृत विद्यालय भान्साघरबाट अब करिब चार हजार विद्यार्थीले दैनिक गुणस्तरीय तथा पोषणयुक्त दिवा खाजा पाउने भएका छन्।
उपमहानगरपालिकाले साउन १ गतेदेखि वडा नम्बर १ देखि ८ सम्म रहेका २१ सामुदायिक विद्यालयमा एकीकृत भान्साघरमार्फत दिवा खाजा वितरण सुरु गर्ने जनाएको छ। यसअघि अधिकांश विद्यालयले आ–आफ्नै स्तरमा खाजा तयार गर्ने व्यवस्था रहेकामा अब एउटै मापदण्डअनुसार केन्द्रीय भान्साघरमा तयार गरिएको पोषणयुक्त खाजा विद्यालयसम्म पुर्याइनेछ। यसबाट खाजाको गुणस्तर, सरसफाइ र पोषणमा एकरूपता कायम हुने विश्वास गरिएको छ।
उपमहानगरपालिकाका अनुसार ११ आधारभूत र १० माध्यमिक विद्यालयका बालविकास कक्षादेखि कक्षा ५ सम्म अध्ययनरत तीन हजार ७९५ विद्यार्थीले नियमित रूपमा दिवा खाजा प्राप्त गर्नेछन्। साथै वडा नम्बर १ स्थित सरस्वती आधारभूत विद्यालय (शान्तिनगर) का कक्षा ८ सम्म अध्ययनरत सबै विद्यार्थीलाई पनि यही भान्साघरबाट खाजा उपलब्ध गराइनेछ। यससँगै लाभान्वित विद्यार्थीको संख्या करिब चार हजार पुग्नेछ।
धनगढी–७ तिल्केचोकमा निर्माण गरिएको अत्याधुनिक भान्साघरको उद्घाटन शनिबार वडा नम्बर ७ का अध्यक्ष मोति राना थारूले गरेका हुन्। कार्यक्रममा नगर प्रमुख गोपाल हमालले शिक्षा र पोषणलाई सँगसँगै अघि बढाउने उद्देश्यले यो परियोजना सञ्चालनमा ल्याइएको बताए।
उपमहानगरपालिकाका अनुसार ‘फुड फर लाइफ’ संस्थासँगको सहकार्य, विश्व खाद्य कार्यक्रम (ध्ँए) र नेपाल सरकारको सहयोगमा दुई करोड ४५ लाख ३३ हजार २९ रुपैयाँ लागतमा परियोजना निर्माण गरिएको हो। उक्त रकमबाट भान्साघरको पूर्वाधार निर्माण, आधुनिक उपकरण जडान, ढुवानीका लागि सवारी साधन, विद्युत् व्यवस्थापनलगायतका कार्य सम्पन्न गरिएको छ। साथै विश्व खाद्य कार्यक्रमबाट करिब ८६ लाख रुपैयाँ बराबरका सामग्री सहयोग प्राप्त भएको जनाइएको छ।
नेपाल सरकारले दिवा खाजा कार्यक्रमअन्तर्गत प्रति विद्यार्थी दैनिक २० रुपैयाँ उपलब्ध गराउँदै आएको छ। यही रकम विद्यालयमार्फत ‘फुड फर लाइफ’ संस्थालाई उपलब्ध गराइने व्यवस्था मिलाइएको उपमहानगरपालिकाले जनाएको छ।
कार्यक्रममा ‘फुड फर लाइफ’का व्यवस्थापन प्रमुख चिरञ्जीवी दाहालले बालबालिकालाई सुरक्षित, स्वस्थ र पोषणयुक्त खाजा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रमलाई प्रभावकारी र दीर्घकालीन रूपमा सञ्चालन गरिने बताए।
धनगढी उपमहानगरपालिकाले यस वर्ष २१ विद्यालयबाट सुरु भएको एकीकृत दिवा खाजा प्रणाली आगामी वर्षदेखि पालिकाभित्रका सबै सामुदायिक विद्यालयमा विस्तार गर्ने लक्ष्य लिएको छ। शिक्षा, स्वास्थ्य र पोषणलाई एकीकृत रूपमा प्रवर्द्धन गर्ने यो अभियान सफल भए विद्यालयस्तरमा दिवा खाजा व्यवस्थापनको नमुना परियोजनाका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।