बझाङ दुर्घटनामा मृत्यु हुने र घाइते अधिकांश वल्लोपल्लो गाउँका

तीन जनाको मृत्यु, १२ घाइतेमध्ये आठको अवस्था गम्भीर

बझाङ  : शनिबार बझाङको केदारस्यूँ गाउँपालिका–७ काँडाचौरबाट दुर्गाथली गाउँपालिकाको चुवावनतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ च २६४४ नम्बरको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। दुर्घटनामा मृत्यु र घाइते हुने अधिकांश यात्रु वल्लोपल्लो गाउँका रहेका छन्।

जिल्ला प्रहरी कार्यालय, बझाङका अनुसार जीप सडकबाट करिब ३०० मिटर तल खसेको थियो। दुर्घटनामा दुर्गाथली गाउँपालिका–६ का चन्द्रबहादुर महत, कुटुरीदेवी महत तथा केदारस्यूँ गाउँपालिका–७ की विमला महत धामीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका १२ जनामध्ये आठ जनाको अवस्था गम्भीर रहेको छ। गम्भीर घाइते हुनेहरूमा दुर्गाथली गाउँपालिका–६ का पूर्व वडा सदस्य रामबहादुर महत, हासुलीदेवी महत, झल्कादेवी महत, हर्कादेवी महत, जैमतीदेवी महत, रामबहादुर महत र देवबहादुर जाग्री रहेका छन्। साथै, केदारस्यूँ गाउँपालिका–७ का जीप चालक देवबहादुर धामी पनि गम्भीर घाइते भएका छन्।

यस्तै, दुर्गाथली गाउँपालिका–६ का धनेसेर जाग्री, रमेश धामी, नवराज धामी र बिरू जाग्रीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि स्थानीय बासिन्दाले तत्काल उद्धार गरी घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाएका थिए। जिल्ला प्रहरी कार्यालय, बझाङका डीएसपी टेकबहादुर जोराका अनुसार दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.