अत्तरिया : अत्तरिया उद्योग वाणिज्य संघको नेतृत्वका लागि आज (आईतबार) निर्वाचन हुँदैछ । त्यसका लागि आयोजक उद्योग वाणिज्य संघले सम्पूर्ण तयारी पुरा गरेको छ । शनिबार संघको पाँचौँ साधारण सभा तथा चौथो चुनावी साधारण सभा उद्घाटन गरिएको हो । सर्वसम्मत गराउने प्रयास गर्दा पनि सहमती नभएपनि निर्वाचनको कार्यक्रम अगाडि बढाएको हो ।
निर्वाचन तालिका अनुसार मतदान आज बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । निर्वाचनमा अध्यक्ष सहित विभिन्न ११ पदका लागि चार प्यानल तथा स्वतन्त्र उम्मेदवार गरी ४३ उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ ।
यसपटक अध्यक्ष पदका लागि संघका संस्थापक उपाध्यक्ष नैनसिंह कार्की, पूर्व उपाध्यक्ष कमल कडायत र पूर्व सदस्य रमेश भट्टराई प्यानल सँगै भिस्मा खड्का (जेनिसा) को नेतृत्व सहित प्यानल पनि यस चुनावी मैदानमा उत्रिएका छन् । चारै प्यानल सहित उम्मेदवारले व्यवसायीका हकहितको संरक्षण, संस्थागत सुधार, पारदर्शी नेतृत्व, व्यवसायमैत्री वातावरण निर्माण तथा संघलाई थप सक्रिय र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारहरूले चुनावी प्रचारप्रसारलाई तीव्र बनाएका छन् । उनीहरू विभिन्न व्यवसायिक क्षेत्र पुगेर व्यवसायीहरू सँग प्रत्यक्ष भेटघाट गर्दै सुझाव, गुनासा र अपेक्षा सुन्नुका साथै आफ्नो पक्षमा मत मागिरहेका छन् ।
निर्वाचनमा अध्यक्षमा उम्मेदवार कमल कडायत नेतृत्वको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा धना देवी चोखाल, वस्तुगत उपाध्यक्षमा बासुदेव पन्त, वाणिज्य उपाध्यक्षमा गणेशबहादुर बोगटी, महासचिवमा गम्भीर साउँद, सचिवमा धिरेन्द्र बोहरा र कोषाध्यक्षमा बालकृष्ण ओझा उम्मेदवार रहेका छन् । सदस्य पदमा घनश्याम जोशी, शेखर पनेरु, डिल्लीराज ओझा र चन्द्रसिंह धामी उम्मेदवार छन् । अध्यक्षका उम्मेदवार कडायत यसअघि संघको उपाध्यक्षको जिम्मेवारी सम्हालि सकेका अनुभवी व्यवसायी हुन् ।
यस्तै, अध्यक्ष उम्मेदवार नैनसिंह कार्की नेतृत्वको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा सूर्यप्रसाद गौतम, वाणिज्य उपाध्यक्षमा पूर्णप्रसाद चौलागाईं, वस्तुगत उपाध्यक्षमा लहानु चौधरी, महासचिवमा प्रकाश कुँवर, सचिवमा मनोज परियार र कोषाध्यक्षमा दीपकप्रकाश न्यौपाने उम्मेदवार बनेका छन् । सदस्य पदमा सूर्य खत्री, पदम बोहरा, डल्लु राना मगर तथा चन्द्रा रावत उम्मेदवार रहेका छन् ।
त्यसैगरी, भीष्मा खड्का (जेनिसा) नेतृत्वको प्यानल पनि निर्वाचन मैदानमा रहेको छ । उक्त प्यानलबाट अध्यक्ष पदमा छोडेर वरिष्ठ उपाध्यक्षमा भीष्मा खड्का, वाणिज्य उपाध्यक्षमा लक्ष्मणबहादुर धामी, वस्तुगत उपाध्यक्षमा खेमराज सापकोटा, महासचिवमा अनिश सिंह, सचिवमा दीपकराज भट्ट र कोषाध्यक्षमा रामदत्त भट्ट उम्मेदवार छन् । सदस्य पदमा गोविन्द रोकाया, दिलबहादुर खत्री, यज्ञराज जोशी र दीपा चौधरी उम्मेदवार रहेका छन् ।
अत्तरिया उद्योग वाणिज्य संघमा हाल एक हजार २४ जना सदस्य आबद्ध रहेका छन् ।
संघको साधारणसभा शनिबार अध्यक्ष कल्याण सिंह बोहराको अध्यक्षतामा सम्पन्न भएको थियो । उद्घाटन सत्रमा गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्ट प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख भट्टले विगतका अनुभव र कमजोरीबाट पाठ सिक्दै आगामी दिनमा उद्योगी–व्यवसायीहरू एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले निर्वाचनका क्रममा विभिन्न समूहबीच प्रतिस्पर्धा भए पनि परिणामपछि विजयी र पराजित पक्षबीच असहयोगको संस्कृति अन्त्य हुनुपर्ने उल्लेख गर्दै संघको समग्र हितका लागि सबै पक्षले सहकार्य गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा सुदूरपश्चिम उद्योग वाणिज्य संघका अध्यक्ष पुष्करराज कुँवर, कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर ओझा, उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य पदम चौलागाई ंलगायत विभिन्न संघ–संस्थाका प्रतिनिधि, उद्योगी तथा व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
निर्वाचन समितिले अध्यक्ष पदका लागि उम्मेदवारी दस्तुर ३१ हजार रुपैयाँ, उद्योग उपाध्यक्षका लागि २५ हजार रुपैयाँ, वाणिज्य उपाध्यक्ष र वस्तुगत उपाध्यक्षका लागि जनही २१ हजार रुपैयाँ, महासचिवका लागि २० हजार रुपैयाँ, सचिव र कोषाध्यक्षका लागि जनही १५ हजार रुपैयाँ तथा सदस्य पदका लागि १० हजार रुपैयाँ तोकेको थियो ।