अत्तरिया उद्योग वाणिज्य संघको निर्वाचन, ९६४ मत खस्यो

अत्तरिया : अत्तरिया उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनमा उत्साहजनक रूपमा ९४ प्रतिशत मतदान भएको छ। कुल १ हजार २४ मतदातामध्ये ९६४ जनाले मताधिकार प्रयोग गरेको निर्वाचन समितिले जनाएको छ।

निर्वाचन बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको समितिले जनाएको छ। अपेक्षाभन्दा उच्च मतदानले व्यवसायीहरू संघप्रति जिम्मेवार रहेको र नेतृत्व चयनप्रति उनीहरूको चासो तथा सक्रिय सहभागिता उल्लेखनीय रहेको देखिएको छ।

यसपटक संघको नेतृत्वका लागि चार समूह चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। अध्यक्ष पदका लागि कमल कडायत, रमेश भट्टराई र नैनसिंह कार्की आफ्ना–आफ्ना पूर्ण प्यानलसहित मैदानमा छन्। यस्तै, भिस्मा खड्काले वरिष्ठ उपाध्यक्षसहितको प्यानल दर्ता गर्दै निर्वाचनलाई थप प्रतिस्पर्धात्मक बनाएकी छन्।

उच्च मतदानपछि अब सम्पूर्ण व्यवसायी समुदायको ध्यान मतगणना र अन्तिम नतिजातर्फ केन्द्रित भएको छ। विजयी नेतृत्वले आगामी कार्यकालमा संघको संस्थागत विकास, व्यवसायीका हकहितको संरक्षण, बजार व्यवस्थापन तथा निजी क्षेत्रका साझा मुद्दालाई प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा व्यवसायीहरूले गरेका छन्।

निर्वाचन समितिका अनुसार मतगणनाको तयारी पूरा भइसकेको छ र चाँडै नै मतगणना सुरु गरिनेछ। नतिजासँगै अत्तरिया उद्योग वाणिज्य संघको आगामी नेतृत्वको औपचारिक टुंगो लाग्नेछ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.