धनगढी : शनिबार बझाङको केदारस्यूँमा भएको जिप दुर्घटनामा ज्यान गुमाएकी ६० वर्षीया कुटुरीदेवी महत श्रीमानको मृत्युपछि विक्षिप्त थिइन् । गत जेठ २६ मा पति प्यारुलालको मृत्यु भएपछि उनको व्यवहार अस्भाविक बन्दै गएको थियो ।
घरी टोलाउने, एक्लै बर्बराउने गर्न थालेकी कुटुरी बिहीबार घरबाट घाँस काट्न हिँडेपछि हराएकी थिइन् । सोही दिनदेखि उनको खोजीमा जुटेका गाउँलेहरु थकित र निरास भइसकेका थिए । उनको खोजीका लागि छिमेकीहरु आफन्त र नातागोता भएका अन्य गाउँसम्म पनि गए । शनिबार बिहान एक्कासी बुगंल नगरपालिकाको जंगलमा उनी जिवितै फेला परिन् ।
आमा हराएपछि चिन्तामा डुबेकी उनकी छोरी विमला महत धामी सबैभन्दा खुसी भइन् । हराएकी आफन्त भेटेर सबै गाउँले हर्षित भए । तर चुवावनवासीको यो खुसी पाँच घण्टा पनि टिक्न दिएन । छोरीको घर केदारस्यूँको काँडाचौरमा खोज्न गएका सबैले खाना खाए । तीन दिनदेखि हराएकी, भोकप्यासले कमजोर भएकी आमालाई हिँडाएर दुर्गाथली–६ मा पर्ने चुवावन गाउँ लैजान छोरीको मनले मानेन । आफ्नै श्रीमान् जिप चालक भएकाले गाडीमै गाउँ लैजाने तयारी गरिन् ।
गाडीमा अट्ने जति खोज्न गएका आफन्तहरुलाई समेत राखेर विमला पनि आमाको छेउको सिटमा बसिन् । ‘उहाँहरु सबै गाडीमा बस्ने ठाउँ नभए पछि खोज्न गएका हामी ६\७ जना हिँडेरै आयौं,’ दुर्घटनाका प्रत्यक्षदर्शी समेत रहेका मृतकका आफन्त दिपक जाग्रीले भने, ‘हामी छोटोबाटो भएर ओल्लो डाँडामा पुगेका थियौं । पारि सुगुरेको घुम्तीमा जिप खस्दै गरेको सुनियो ।’
त्यसपछि आफुहरु दौड्दै घटनास्थमा पुग्दा कुटुरी, उनकी छोरी विमला र देवर चक्र महतको घटनास्थमै ज्यान गएको उनले बताए । ‘हराएको मान्छे भेटिनु भयो भनेर सबै खुसी भएका थियौं,’ मृतक कुटुरीका भदा नाता पर्ने जाग्रीले भने, ‘हाम्रो खुसी दैवले देख्न सकेन । गाउँभरी रुवाबासी भइरहेको छ ।’ यो घटनामा जिप चालक मृतक विमलाका श्रीमान् देव धामी सहित सात जना गम्भीर घाइते भएका छन् । उनीहरुलाई थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टर र स्काइट्रक मार्फत काठमाडौं, नेपालगन्ज र सुर्खेत लगिएको छ ।
शनिबार नै नेपाली सेनाको हेलिकप्टर घाइतेको उद्धारका लागि बझाङ आएको भए पनि खराब मौसमका कारण घटनास्थलमा अवतरण गर्न सकेको थिएन । हेलिकप्टरबाट उद्धार सम्भव नभए पछि घटनाको झण्डै १० घण्टा पनि घाइतेहरुलाई सडक मार्गबाट जिल्ला अस्पताल ल्याइएको थियो । घाइतेमध्ये देव धामीको अवस्था चिन्ताजनक रहेको उपचारमा संलग्न जिल्ला अस्पतालका चिकित्सकहरुले जनाएका छन् ।
प्रहरीका अनुसार १६ जना यात्रु बोकेको उक्त सुपप्र ०१–००१ च २६६४ नम्बरको बोलेरो जिप केदारस्यूँ गाउँपालिका–७ मा पर्ने सुगुरे घुम्तीमा दुर्घटना भएको थियो ।