अत्तरिया उद्योग वाणिज्य संघमा कमल कडायतको उदय, ९ पदमा आफ्नै प्यानलको कब्जा

अत्तरिया  : लामो समयदेखि आन्तरिक विवादका कारण निष्क्रियजस्तै बनेको अत्तरिया उद्योग वाणिज्य संघले नयाँ नेतृत्व पाएको छ। संघको चौथो निर्वाचनबाट कमल कडायत अध्यक्षमा निर्वाचित भएका छन्। आइतबार सम्पन्न मतदानको अन्तिम मतपरिणाम सोमबार साँझ सार्वजनिक गर्दै निर्वाचन समितिले नयाँ कार्यसमिति घोषणा गरेको हो।

अध्यक्ष पदका उम्मेदवार कमल कडायतले ४०६ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी रमेश भट्टराईलाई २९ मतको अन्तरले पराजित गरे। भट्टराईले ३७७ मत प्राप्त गर्दा अर्का उम्मेदवार नैनसिंह कार्कीले ९० मत पाए।

चार प्यानलबीच भएको प्रतिस्पर्धामा कडायत प्यानलले स्पष्ट बहुमत हासिल गर्दै ९ पदमा विजय हात पारेको छ। कडायत प्यानलबाट उद्योग उपाध्यक्ष, वाणिज्य उपाध्यक्ष, वस्तुगत उपाध्यक्ष, महासचिव, सचिव तथा तीन सदस्यसहित कुल ९ जना निर्वाचित भएका छन्। भट्टराई प्यानलबाट भने कोषाध्यक्ष र एक सदस्य मात्र विजयी भए।

उद्योग उपाध्यक्षमा धाना देवी चोखाल २७६ मतसहित विजयी भइन्। उनकी निकटतम प्रतिस्पर्धी भिष्मा खड्काले २५१ मत प्राप्त गरिन्। लोकराज ओझाले २४१ र सूर्यकुमार गौतमले ९८ मत पाए।

वाणिज्य उपाध्यक्षमा गणेश बोगटी ३८२ मतसहित विजयी भए। उनका निकटतम प्रतिस्पर्धी वीरेन्द्रबहादुर विष्टले २५३ मत ल्याए। लक्ष्मणबहादुर धामीले १३३ तथा पूर्णप्रसाद चौलागाईंले ९१ मत प्राप्त गरे।

वस्तुगत उपाध्यक्षमा बासुदेव पन्त ३०३ मतसहित विजयी भए। समीर गिरीले २९३ मत प्राप्त गर्दै कडा प्रतिस्पर्धा दिए। खेमराज सापकोटाले १३९ र लाहानु चौधरीले ११० मत पाए।

महासचिवमा गम्भीर साउँद ३६२ मतसहित विजयी भए। उनका निकटतम प्रतिस्पर्धी गोकुल भट्टले ३१८ मत प्राप्त गरे। अनिल सिंहले ९२ र प्रकाश कुँवरले ८० मत पाए।

कोषाध्यक्षमा भने रमेश भट्टराई प्यानलका दिपेन्द्रराज अवस्थी विजयी भए। अवस्थीले ३६३ मत ल्याउँदा कडायत प्यानलका बालकृष्ण ओझाले ३३३ मत प्राप्त गरे। दिपकप्रसाद न्यौपानेले ९२ र रामदत्त भट्टले ७९ मत पाए।

सचिवमा धिरेन्द्र बोहरा २६९ मतसहित विजयी भए। उनका निकटतम प्रतिस्पर्धी राजन सिजापतीले २६४ मत प्राप्त गरे। दीपकराज भट्टले २३८ र मनोजराज दमाईले ६४ मत पाए।

सदस्यतर्फ कडायत प्यानलका शेखर पनेरु (३९४), धनश्याम जोशी (३६८) र डिल्लीराज ओझा (३४४) निर्वाचित भए। भट्टराई प्यानलका लक्ष्मीराज ओझा (३१९) सदस्यमा विजयी भए। १ हजार २४ मतदाता रहेको संघमा आइतबार सम्पन्न निर्वाचनमा ९६४ जनाले मतदान गरेका थिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.