धनगढी : कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ले नयाँ नेतृत्व पाएको छ।
बुधबार शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयमा बसेको विश्वविद्यालयको सिनेट बैठकले प्रा. डा.सुनिलकुमार जोशीलाई उपकुलपति तथा डा. भीम चन्दलाई रजिष्ट्रार नियुक्त गर्ने निर्णय गरेको हो।
प्रा. डा. जोशी यसअघि विश्वविद्यालयका संस्थापक उपकुलपति समेत रहेका थिए। उनको नेतृत्वमा विश्वविद्यालय सञ्चालनका लागि आवश्यक संस्थागत आधार निर्माण गरिएको थियो। उनले संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) तयार गर्नुका साथै विश्वविद्यालय सञ्चालनका लागि आवश्यक ९ वटा कानुन निर्माणमा नेतृत्वदायी भूमिका खेलेका थिए।
त्यस्तै, एमबीबीएससहित चिकित्सा शिक्षाका चार शैक्षिक कार्यक्रम सञ्चालनको प्रारम्भिक तयारी पनि उनकै कार्यकालमा अघि बढाइएको थियो।
उपकुलपति नियुक्त हुनुअघि प्रा. डा. जोशी काठमाडौं मेडिकल कलेजमा कम्युनिटी मेडिसिनका प्राध्यापकका रूपमा कार्यरत थिए। उनी विभिन्न विश्वविद्यालयमा भिजिटिङ प्रोफेसरका रूपमा आबद्ध रहँदै आएका छन्।
चिकित्सा अनुसन्धानमा समेत उनको लामो अनुभव रहेको छ भने उनका अनुसन्धान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित छन्।
यस्तै, विश्वविद्यालयको रजिष्ट्रारमा नियुक्त डा. भीम चन्द स्वास्थ्य प्रशासन र अस्पताल व्यवस्थापनका अनुभवी व्यक्तित्व मानिन्छन्। काठमाडौं मेडिकल कलेजको स्थापना प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेका उनले अस्पताल व्यवस्थापनमा पीएचडी गरेका छन्।
डा. चन्दले काठमाडौं मेडिकल कलेजमा १६ वर्षसम्म प्रशासन प्रमुख, लेखा प्रमुख तथा प्रशासकीय प्रमुखका रूपमा काम गरेका थिए। उनी नेपाल मेडिकल काउन्सिलको सदस्य रहँदा इथिकल कमिटीको संयोजकको जिम्मेवारीसमेत सम्हालिसकेका छन्। पछिल्ला १२ वर्षदेखि उनी पिपुल्स डेन्टल कलेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा कार्यरत थिए।
नियुक्तिपछि डा. चन्दले गेटास्थित स्वास्थ्य विज्ञान विश्वविद्यालयसँग आफ्नो सम्बन्ध प्रारम्भिक चरणदेखि नै रहेको बताए। उनले विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माणसम्बन्धी प्राविधिक समितिमा रहेर काम गरेको तथा पछिल्लो समय विश्वविद्यालय सञ्चालनलाई गति दिन विभिन्न तहमा पहल गरेको उल्लेख गरे। यसअघि उनी विश्वविद्यालयको कार्यकारी परिषद्का सदस्यसमेत थिए। परिषद्मा रहँदा ओएनएम र आवश्यक कानुन निर्माणमा उनले महत्वपूर्ण योगदान दिएका थिए।
स्मरणीय छ, गत वैशाखमा सरकारले अध्यादेशमार्फत देशभरका विश्वविद्यालयका पदाधिकारीलाई पदमुक्त गरेको थियो। त्यसपछि नयाँ पदाधिकारी सिफारिसका लागि गठित समितिमा प्रा. डा. जयराज अवस्थी, प्रा. डा. दिनेशकुमार लम्साल र प्रा. डा. लोचना श्रेष्ठ सदस्य रहेका थिए। पछि प्रा. डा. लोचना श्रेष्ठले राजीनामा दिएपछि उनको स्थानमा प्रा. डा. शैलु प्रधानलाई मनोनयन गरिएको थियो। समितिले असार दोस्रो सातामै उपकुलपति र रजिष्ट्रार नियुक्तिका लागि सरकारसमक्ष सिफारिस गरेको थियो।
नयाँ नेतृत्वसँगै शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा शैक्षिक कार्यक्रम सञ्चालन, संस्थागत विकास र स्वास्थ्य शिक्षा विस्तारले थप गति लिने अपेक्षा गरिएको छ।