एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

धनगढी  : नेकपा (एमाले) ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार सरकारमा रहेका एमालेका मन्त्रीलाई पदमुक्त गरेलगत्तै बसेको एमाले संसदीय दलको बैठकले सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्री शाहले राजनीतिक सहमति र सत्ता साझेदारीको मर्मविपरीत एकपक्षीय निर्णय गरेको आरोप लगाए। उनले मुख्यमन्त्रीले व्यक्तिगत दम्भका आधारमा सरकार सञ्चालन गरेको दाबी गर्दै त्यसको राजनीतिक परिणाम छिट्टै देखिने टिप्पणी गरे।

‘उहाँले दम्भ देखाउनुभयो। सरकारमा र आफ्नो दलभित्र पनि अल्पमतमा परेपछि निहुँ खोज्दै हुनुहुन्थ्यो। आज त्यो कदम चाल्नुभयो, त्यसको परिणाम के हुन्छ भन्ने समयले देखाउनेछ,’ रावलले भने। उनका अनुसार एमालेले बुधबार साँझ ५ बजेदेखि लागू हुने गरी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो।

रावलले प्रदेश सरकारको बजेट निर्माण प्रक्रियामाथि पनि गम्भीर प्रश्न उठाए। मुख्यमन्त्री शाहले बजेटमा एकलौटी निर्णय गर्दै करिब पाँच अर्ब रुपैयाँ आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित गरेको आरोप उनले लगाए।

उनले नेपाली कांग्रेस र एमालेबीचको राजनीतिक समझदारीका आधारमा प्रदेश सरकार गठन भए पनि मुख्यमन्त्री शाहले त्यसको भावना र सहमतिलाई बेवास्ता गरेको दाबी गरे।

एमालेले समर्थन फिर्ता लिएसँगै सुदूरपश्चिम प्रदेश सरकारको राजनीतिक समीकरण फेरिने संकेत देखिएको छ। अब मुख्यमन्त्री शाहले प्रदेश सभामा बहुमत कायम राख्न सक्ने वा नसक्ने विषय आगामी राजनीतिक घटनाक्रमले स्पष्ट पार्नेछ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.