अत्तरिया : अत्तरिया उद्योग वाणिज्य संघको असार २८ गते सम्पन्न निर्वाचनबाट निर्वाचित नयाँ कार्यसमितिले पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै औपचारिक रूपमा पदभार ग्रहण गरेको छ । बुधबार शपथ निर्वाचन समिति संयोजक अधिवक्ता देवराज भट्टले गराएका हुन् ।
निर्वाचनबाट कमल कडायत अध्यक्षमा निर्वाचित भएका हुन । त्यसैगरी उद्योग उपाध्यक्षमा धनादेवी चोखाल, वाणिज्य उपाध्यक्षमा गणेश बोगटी, वस्तुगत उपाध्यक्षमा बासुदेव पन्त, महासचिवमा गम्भीर साउँद, सचिवमा धिरेन्द्र बोहरा तथा कोषाध्यक्षमा दीपेन्द्रराज अवस्थी निर्वाचित भए । सदस्यहरूमा लक्ष्मीराज ओझा, शेखर पनेरु, घनश्याम जोशी र डिल्लीराज ओझा निर्वाचित भए ।
निर्वाचनमा कुल १ हजार २४ मतदातामध्ये ९६४ मत खसेको थियो, जुन करिब ९४ प्रतिशत मतदान हो । उच्च मतदाताको सहभागिताले संघप्रति व्यवसायीहरूको चासो र विश्वास झल्किएको बताइएको छ । अध्यक्ष कडायत यसअघि २०७५ सालमा संघको उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका अनुभवी व्यवसायी हुन् ।
व्यवसायीमैत्री संस्था निर्माण गर्ने प्रतिबद्धता
पदभार ग्रहणपछि बोल्दै नवनिर्वाचित अध्यक्ष कमल कडायतले अत्तरिया क्षेत्रका व्यवसायीहरूको संघप्रति ठूलो अपेक्षा रहेको उल्लेख गर्दै व्यवसायीको हकहित संरक्षण, संस्थागत सुदृढीकरण र प्रभावकारी नेतृत्वका लागि आफू प्रतिबद्ध रहेको बताए ।
उनले व्यवसायीमैत्री वातावरण सिर्जना गर्दै संस्थालाई अझ सक्रिय र परिणाममुखी बनाउने लक्ष्य रहेको बताए । व्यवसायीको सुरक्षा, बीमा, व्यवसाय प्रवद्र्धन तथा विभिन्न नीतिगत समस्याको समाधानका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय र छलफल अघि बढाइने उनले स्पष्ट पारे ।
कडायतले व्यवसायीका अधिकार संरक्षण, समस्या समाधान र संस्थागत विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै सबै व्यवसायीको साझा संस्थाका रूपमा संघलाई थप बलियो बनाउने विश्वास दिलाए ।