अत्तरिया : सुदूरपश्चिम प्रदेशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमका बीच नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको बैठक सुरु भएको छ। संसदीय दलको कार्यालयमा बसेको बैठकमा प्रदेशको बदलिएको सत्ता समीकरण, चालु आर्थिक वर्षको बजेट र आगामी राजनीतिक रणनीतिबारे गहन छलफल भइरहेको छ।
मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार एमालेका मन्त्रीहरूलाई सरकारबाट बर्खास्त गरेपछि प्रदेश सरकारको राजनीतिक समीकरण फेरिएको छ। त्यसको लगत्तै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री शाह नेतृत्वको सरकार अल्पमतमा परेको छ।
अल्पमतमा परेपछि मुख्यमन्त्री शाहले प्रमुख प्रतिपक्षी नेकपासँग सत्ता सहकार्यका लागि प्रस्ताव अघि सारेका छन्। उनले चालु आर्थिक वर्षको बजेट पारित गर्न सहयोग गर्न आग्रह गर्दै त्यसपछि सरकारमा सहकार्य गर्ने प्रस्ताव राखेको स्रोतले जनाएको छ। तर, उक्त प्रस्तावलाई नेकपाले तत्काल स्वीकार नगरेको बताइएको छ। यद्यपि दुवै पक्षका शीर्ष नेताबीच नयाँ सत्ता समीकरणको सम्भावनाबारे अनौपचारिक संवाद भने निरन्तर जारी रहेको छ।
यसैबीच, नेकपा संसदीय दलको आजको बैठकमा प्रदेशको राजनीतिक अवस्थाको समीक्षा, बजेटसम्बन्धी धारणा र आगामी रणनीति तय गर्ने विषयमा केन्द्रित छलफल भइरहेको जनाइएको छ। बैठकबाट सरकार गठन तथा समर्थनबारे कुनै स्पष्ट निर्णय आउँछ वा आउँदैन भन्ने विषयलाई राजनीतिक वृत्तले चासोका साथ हेरिरहेको छ।
यसअघि एमालेले आर्थिक वर्ष २०८३\८४ को प्रदेश बजेटप्रति असन्तुष्टि जनाउँदै खर्च कटौतीको प्रस्ताव दर्ता गरेको थियो। बजेटलाई लिएर कांग्रेस र एमालेबीच विवाद चर्किएपछि दुवै दलबीचको सत्ता सहकार्य अन्त्य भएको हो। त्यसपछि सुदूरपश्चिम प्रदेशको राजनीतिक समीकरण नयाँ मोडमा पुगेको छ।