अत्तरिया : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश संसदीय दलले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनका लागि राजनीतिक पहल अघि बढाउने निर्णय गरेको छ। बिहीबार प्रदेश संसदीय दलका नेता खगराज भट्टको अध्यक्षतामा बसेको बैठकले अन्य राजनीतिक दलहरूसँग संवाद गरी आफ्नै नेतृत्वमा सरकार गठनका लागि आवश्यक पहल गर्ने निर्णय गरेको हो।
बैठकले नेकपा नेतृत्वको सरकार गठनका लागि अनुकूल वातावरण बनाउन वर्तमान मुख्यमन्त्री कमलबहादुर शाहलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको छ। साथै, सरकारलाई दीर्घकालीन प्रभाव पार्ने कुनै पनि महत्त्वपूर्ण नीति तथा निर्णय तत्काल नगर्न पनि अनुरोध गरिएको छ।
सुदूरपश्चिम प्रदेशको राजनीतिक समीकरण बजेट विवादसँगै थप जटिल बनेको छ। आगामी आर्थिक वर्ष २०८३र८४ को बजेटमाथि सत्तारुढ दलहरूबीच विवाद चर्किएपछि मुख्यमन्त्री शाहले बुधबार एमालेका मन्त्रीहरूलाई पदमुक्त गरेका थिए।
मुख्यमन्त्रीको उक्त कदमलगत्तै नेकपा (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको थियो। एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह प्रदेश सभामा अल्पमतमा परेका छन्।
अल्पमतमा परेपछि मुख्यमन्त्री शाहले बजेट पारित गराउन नेकपासँग सहयोगको आग्रह गरेका थिए। तर नेकपाले वर्तमान राजनीतिक अवस्थामै बजेट पारित गर्न सहयोग गर्न नसकिने स्पष्ट गर्दै नयाँ सरकार गठनतर्फ अग्रसर हुने संकेत दिएको छ।
नेकपाको पछिल्लो निर्णयसँगै सुदूरपश्चिम प्रदेशमा सत्ता परिवर्तनको सम्भावना बलियो बनेको छ। अब नयाँ सरकार गठनका लागि हुने दलहरूबीचको संवाद र सम्भावित नयाँ राजनीतिक समीकरणतर्फ प्रदेशको राजनीतिक ध्यान केन्द्रित भएको छ।