जन्मदिनमा उत्सव होइन, सेवा : हेमा श्रीद्वारा ७ विपन्न परिवारलाई खाद्यान्न सहयोग

बनबेहडा  : जन्मदिनलाई केवल व्यक्तिगत उत्सवका रूपमा नभई समाजसेवाको अवसरका रूपमा मनाउँदै हेमा श्री फाउन्डेसन नेपालकी केन्द्रीय अध्यक्ष मञ्जु पौड्याल (हेमा श्री) ले आफ्नो जन्मदिनको अवसरमा कैलालीको गौरीगंगा नगरपालिका–६, बनबेहडाका ७ विपन्न परिवारलाई खाद्यान्न सहयोग प्रदान गरेको छ ।

हाल वैदेशिक रोजगारीमा रहेकी अध्यक्ष हेमा श्रीको पहलमा सम्पन्न उक्त सहयोग कार्यक्रम अन्तर्गत प्रत्येक परिवारलाई करिब २ हजार ५ सय रुपैयाँ बराबरका चामल, दाल, खानेतेल, नुन, साबुन, सोडा लगायतका अत्यावश्यक दैनिक उपभोग्य सामग्री वितरण गरिएको हो । कठिन आर्थिक अवस्थासँग जुधिरहेका परिवारका लागि यो सहयोगले तत्काल राहत पु¥याएको स्थानीयवासीले बताएका छन् ।
यस अवसरमा आफ्नो शुभकामना सन्देश दिँदै अध्यक्ष हेमा श्रीले भनिन, “आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारलाई सकेसम्म साथ र सहयोग गरौँ भन्ने उद्देश्यले विगतदेखि नै यस्ता मानवीय कार्य गर्दै आएको छु। आगामी दिनमा पनि सामाजिक सेवाका यस्ता अभियानलाई निरन्तरता दिने मेरो प्रतिबद्धता छ ।”

सहयोग प्राप्त गर्ने परिवारहरूले कठिन परिस्थितिमा प्राप्त भएको सहयोगले ठूलो राहत मिलेको बताउँदै हेमा श्री फाउन्डेसन नेपालप्रति हार्दिक आभार व्यक्त गरेका छन् । कार्यक्रममा फाउन्डेसनका कार्यवाहक अध्यक्ष हेमन्त राज जोशी (बाजे), वडा सदस्य बाटुदेवी कामी, अमर माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर कुँवर, आधारभूत स्वास्थ्य केन्द्र प्रमुख गणेशप्रसाद उपाध्याय, स्थानीय समाजसेवी तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागीहरूले जन्मदिनलाई समाजसेवासँग जोड्ने यस्तो अभियान अनुकरणीय भएको उल्लेख गर्दै अन्य व्यक्तिहरूलाई पनि यस्ता मानवीय कार्यमा प्रेरित हुने विश्वास व्यक्त गरेका थिए । साथै अध्यक्ष हेमा श्रीलाई जन्मदिनको शुभकामना व्यक्त गर्दै उहाँको सामाजिक योगदानको खुलेर प्रशंसा गरेका थिए । कार्यक्रममा स्वागत तथा शुभकामना मन्तव्य फाउन्डेसनका सल्लाहकार दानबहादुर कुँवर ले राखेका थिए । सञ्चालन नवीन बिष्ट ले गरेका थिए ।

अध्यक्ष मञ्जु पौड्यालले यसअघि पनि आफ्नो जन्मदिनको अवसरमा अत्तरियास्थित महिला तथा बालबालिका सेभ हाउसमा आश्रित बालबालिकाहरूलाई विद्यालय पोसाक वितरण गरेकी थिइन । जन्मदिनलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै निरन्तर मानवीय सहयोगका कार्यक्रम सञ्चालन गर्दै आउनुभएकी उनको पछिल्लो अभियानले पनि समाजमा सकारात्मक सन्देश प्रवाह गरेको छ ।

शिक्षा, स्वास्थ्य, सामाजिक सेवा, विपद् राहत तथा मानवीय सहयोगका क्षेत्रमा सक्रिय हेमा श्री फाउन्डेसन नेपाल ले आगामी दिनमा पनि विपन्न, असहाय तथा आवश्यकतामा रहेका समुदायको हितमा सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

“खुसी बाँड्दा बढ्छ“ भन्ने भावनालाई व्यवहारमा उतार्दै गरिएको यो सहयोगले जन्मदिन मनाउने संस्कृतिलाई उत्सवभन्दा माथि उठाएर समाजसेवामुखी बनाउने प्रेरणादायी सन्देश दिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.