गेटामा मोटरसाइकल दुर्घटना, १८ वर्षीय युवकको मृत्यु

अत्तरिया  : कैलालीको गेटामा शुक्रबार बिहान भएको मोटरसाइकल दुर्घटनामा १८ वर्षीय युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

जिल्लाको गोदावरी नगरपालिका–५ गेटास्थित मत्स्य पालन केन्द्र नजिक अत्तरिया–धनगढी सडकखण्डमा अत्तरियाबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००८ प ५९९८ नम्बरको मोटरसाइकल अत्यधिक गतिका कारण आफैं अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–५ तारानगर निवासी १८ वर्षीय पर्वत चौधरी गम्भीर घाइते भएका थिए। स्थानीय र प्रहरीको सहयोगमा तत्काल उद्धार गरी सेती प्रादेशिक अस्पताल पुर्‍याइए पनि उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

मोटरसाइकलको पछाडि सवार १७ वर्षीय लक्ष्मण खातीको दाहिने हात र खुट्टामा चोट लागेको छ। उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार मृतक पर्वत चौधरी र घाइते लक्ष्मण खाती दुवै जना एसओएस बालग्राम शाखा कार्यालय, तारानगरमा बस्दै आएका थिए।

मृतक चौधरीको शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ। दुर्घटनाको थप कारण खुल्न बाँकी रहेको र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

प्रहरीले सवारीसाधन चलाउँदा गति नियन्त्रणमा राख्न र ट्राफिक नियमको पूर्ण पालना गर्न सबै चालकलाई आग्रह गरेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.