‘ग्रिन गोदावरी, क्लिन गोदावरी’ अभियान : नगर प्रमुख आफैं झाडु बोकेर आर्यघाट सरसफाइमा
गोदावरी नगरपालिकाको बृहत् अभियानमा जनप्रतिनिधि, सुरक्षाकर्मी र स्थानीयको सहभागितास फोहोर व्यवस्थापनमा सबैलाई जिम्मेवार बन्न आग्रह
अत्तरिया : “ग्रिन गोदावरी, क्लिन गोदावरी” तथा “हाम्रो नगर, सफा सुन्दर शहर” भन्ने मूल नारालाई व्यवहारमा उतार्दै गोदावरी नगरपालिकाले गोदावरी आर्यघाटमा बृहत् सरसफाइ अभियान सञ्चालन गरेको छ।
कार्यक्रममा नगर प्रमुख वीरेन्द्र भट्ट स्वयं झाडु लिएर सरसफाइमा सहभागी भएपछि अभियानले थप ऊर्जा र सकारात्मक सन्देश दिएको थियो। आर्यघाट परिसर तथा आसपासका क्षेत्रमा रहेका फोहोर संकलन गरी सफाइ गरिएको कार्यक्रममा जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी, सुरक्षाकर्मी तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो। सरसफाइ अभियानमा देवीदल गण तेघरी ब्यारेक, अत्तरिया ले पनि सहकार्य गरेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख भट्टले स्वच्छ, हराभरा र व्यवस्थित गोदावरी निर्माण कुनै एकदिने अभियान नभई हरेक नागरिकको साझा दायित्व भएको बताए। उनले नगरपालिकाले सुरु गरेको अभियानलाई जनसहभागितासँग जोडेर निरन्तर अघि बढाइने उल्लेख गर्दै वातावरण संरक्षण, सार्वजनिक सम्पत्तिको संरक्षण र स्वस्थ जीवनशैलीका लागि सबै नागरिकले आफ्नो ठाउँबाट जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिए ।
नगर प्रमुख भट्टले आर्यघाटमा अन्तिम संस्कारका क्रममा प्रयोग हुने सामग्री तोकिएको स्थानमा व्यवस्थापन गर्न, प्लास्टिकका पानीका बोतल तथा अन्य फोहोर जथाभावी नफालेर डस्टबिनमा राख्न सबैसँग आग्रह गरे। उनले सानो सचेतनाले पनि स्वच्छ वातावरण निर्माणमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरे।

उनले नगरलाई स्वच्छ, सुन्दर र वातावरणमैत्री बनाउने अभियानमा सबै नगरवासीलाई सक्रिय रूपमा सहभागी हुन आह्वान गर्दै यस्ता सरसफाइ कार्यक्रम आगामी दिनमा अझ प्रभावकारी रूपमा निरन्तर सञ्चालन गरिने जानकारी दिए।
गोदावरी नगरपालिकाले सरसफाइ, हरियाली प्रवर्द्धन र वातावरण संरक्षणलाई उच्च प्राथमिकतामा राख्दै नगरलाई स्वच्छ, सुन्दर र उदाहरणीय शहरका रूपमा विकास गर्ने लक्ष्यसहित अभियानलाई निरन्तरता दिने जनाएको छ।