अत्तरिया : सुदूरपश्चिम प्रदेशमा सञ्चालन हुने तीन पाङ्ग्रे अटोको पहिचान, ट्राफिक व्यवस्थापन र सडक सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यले सिरियल नम्बरयुक्त ट्राफिक स्टिकर जडान अभियान सुरु गरिएको छ। अभियानको शुभारम्भ कैलालीको अत्तरिया चौराहाबाट गरिएको हो।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीको उपस्थितिमा सुरु भएको अभियानअन्तर्गत पहिलो चरणमै ६० वटा पेट्रोल तथा विद्युतीय अटोमा सिरियल नम्बरयुक्त स्टिकर जडान गरिएको कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार स्टिकरको प्रयोगले चालक अनुमतिपत्र (लाइसेन्स) तथा आवश्यक सवारी कागजात पूरा गरेका अटोको सहज पहिचान गर्न मद्दत पुग्नेछ। प्रत्येक स्टिकरमा रहेको छुट्टै सिरियल नम्बरका आधारमा ट्राफिक प्रहरीले सवारीको विवरण छिटो पहिचान गर्न, अनुगमनलाई व्यवस्थित बनाउन र चेकजाँचलाई अझ प्रभावकारी बनाउन सक्ने विश्वास गरिएको छ।
प्रहरी उपरीक्षक कार्कीले अभियानले सडक सुरक्षामा सुधार ल्याउनुका साथै ट्राफिक नियमको कार्यान्वयनलाई थप प्रभावकारी बनाउने बताए। उनका अनुसार कानुनी प्रक्रिया पूरा गरेका सवारीसाधनको व्यवस्थित अभिलेखीकरण र पहिचान सुनिश्चित गर्नु अभियानको मुख्य उद्देश्य हो।
यससँगै, हालसम्म चालक अनुमतिपत्र नलिएका अटो चालकलाई निश्चित समयसीमा दिई लाइसेन्स बनाउन आग्रह गरिने भएको छ। तोकिएको अवधिभित्र पनि लाइसेन्स नबनाए मुख्य सडकमा अटो सञ्चालन गर्न नदिने तयारी रहेको एसपी कार्कीले स्पष्ट पारे।
कार्यालयले आवश्यक मापदण्ड पूरा गरेका सबै अटोमा क्रमशः सिरियल नम्बरयुक्त ट्राफिक स्टिकर जडान गरिने जनाएको छ। अभियानमा अटो चालक तथा व्यवसायीबाट सकारात्मक सहयोग प्राप्त भइरहेको कार्यालयको भनाइ छ।
यो अभियान केवल कैलालीमा सीमित नरही सुदूरपश्चिम प्रदेशभर सञ्चालनमा रहेका सम्पूर्ण तीन पाङ्ग्रे अटोमा विस्तार गरिने नेपाल प्रहरीले जनाएको छ। प्रहरीको विश्वास छ कि यस अभियानले ट्राफिक व्यवस्थापनलाई आधुनिक, व्यवस्थित र पारदर्शी बनाउनुका साथै दुर्घटना न्यूनीकरण र कानुनी शासनको प्रभावकारी कार्यान्वयनमा समेत महत्वपूर्ण योगदान पुर्याउनेछ।