अत्तरिया : कैलालीको गोदावरी नगरपालिका–१ निवासी प्रेमबहादुर विष्ट करिब २५ वर्षदेखि परिवारको सम्पर्कबाट बाहिर छन्। लामो समय बितिसक्दा पनि उनको कुनै आधिकारिक जानकारी नपाएपछि परिवारले उनलाई खोजी गरिदिन सबैसँग भावुक अपिल गरेको छ।
प्रेमबहादुर विष्ट बुवा कर्णबहादुर विष्ट र आमा रमादेवी विष्टका जेठा छोरा हुन्। परिवारका अनुसार उनी १७–१८ वर्षको उमेरमा घरबाट निस्किएपछि सम्पर्कविहीन भएका थिए। त्यसयता उनको अवस्थाबारे परिवार अनभिज्ञ छ।
परिवारका अनुसार केही वर्षपछि उनी भारतको हरियाणा राज्यस्थित सिरसा क्षेत्रमा रहेको भन्ने अप्रत्यक्ष जानकारी प्राप्त भएको थियो। तर, त्यसबेला पनि उनीसँग प्रत्यक्ष सम्पर्क स्थापित गर्न नसकिएको र त्यसपछि उनको कुनै विश्वसनीय सूचना प्राप्त नभएको बुवा कर्णबहादुर विष्टले बताए।
लामो समयदेखि छोराको प्रतीक्षामा रहेका आमाबुवाले प्रेमबहादुरलाई जहाँ भए पनि एक पटक परिवारसँग सम्पर्कमा आउन भावुक आग्रह गरेका छन्। साथै, उनलाई चिन्ने, देख्ने वा हालको अवस्थाबारे कुनै जानकारी भएका जो–कोहीलाई परिवारलाई खबर गरिदिन अनुरोध गरिएको छ।
प्रेमबहादुर विष्टसम्बन्धी कुनै जानकारी भए नेपालमा ९८४८४२३४६८ र भारतमा ७७४४८१७४४९ नम्बरमा सम्पर्क गर्न परिवारले आग्रह गरेको छ।
‘एउटा सानो जानकारीले २५ वर्षदेखि प्रतीक्षारत एउटा परिवारलाई पुनः मिलाउन सक्छ,’ भन्दै परिवारले सबैलाई यो सूचना बढीभन्दा बढी साझा गरिदिन पनि अनुरोध गरेको छ।