धनगढी : सुदूरपश्चिम प्रदेशका अधिकांश क्षेत्रमा आइतबार मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको छ। विशेषगरी कैलाली र कञ्चनपुरका केही स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएकाले स्थानीय प्रशासन र मौसमविद्ले नदी तटीय तथा होचो भूभागका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
गत २४ घण्टाको वर्षा मापनअनुसार कञ्चनपुरको बेलौरीस्थित शान्तिपुर क्षेत्रमा सबैभन्दा बढी ७८ मिलिमिटर वर्षा भएको छ। सोही जिल्लाको कृष्णपुर नगरपालिका क्षेत्रमा भने ८.६ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ।
मौसमविद् डेभिड ढकालका अनुसार आज सुदूरपश्चिमका तराई र पहाडी दुवै क्षेत्रमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले यात्रा गर्नेहरूले मौसमको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र घरबाट निस्कनु उपयुक्त हुनेछ। उनले विशेषगरी लामो दूरीका यात्रु तथा जोखिमयुक्त सडक प्रयोग गर्नेहरूलाई अतिरिक्त सावधानी अपनाउन सुझाव दिएका छन्।
लगातारको वर्षासँगै कैलाली र कञ्चनपुरका नदी तथा खोलामा जलस्तर उल्लेख्य रूपमा बढ्न सक्ने भएकाले तटीय बस्ती र होचा भूभागमा डुबानको जोखिम उच्च रहेको मौसमविद्को चेतावनी छ।
कैलालीका प्रमुख नदी मोहना, खुटिया, कान्द्रा, काँडा र कर्णालीमा पानीको बहाव बढ्न सक्ने भएकाले नदी किनारका बासिन्दालाई आवश्यक परे समयमै सुरक्षित स्थानमा सर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ।
कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बाढी तथा डुबानको सम्भावित जोखिमलाई मध्यनजर गर्दै अभिभावकलाई आफ्ना बालबालिकाको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेका छन्। उनले बाढी आएको समयमा नदी तथा खोलामा पौडी खेल्न वा जोखिमयुक्त क्षेत्रमा जान बालबालिकालाई नदिन अनुरोध गरेका छन्।
विगतका वर्षहरूमा बाढीले बगाएर ल्याएका दाउरा संकलन गर्ने क्रममा धेरैले ज्यान गुमाएको घटनालाई स्मरण गराउँदै प्रमुख जिल्ला अधिकारी रेग्मीले यस वर्ष त्यस्ता जोखिमपूर्ण गतिविधिमा संलग्न नहुन सर्वसाधारणलाई सचेत गराएका छन्।
त्यसैगरी, वैशाख–जेठमा घर लिपपोतका लागि खनिएका पुराना माटोका ढिस्काहरू वर्षाका कारण गलेर अचानक भत्किन सक्ने भएकाले त्यस्ता स्थानबाट माटो निकाल्न नजान पनि प्रशासनले आग्रह गरेको छ।
स्थानीय प्रशासनले बाढी, डुबान वा अन्य कुनै पनि आकस्मिक विपद् देखिएमा ढिलाइ नगरी नजिकको प्रहरी कार्यालय, सुरक्षा निकाय वा स्थानीय जनप्रतिनिधिसँग तत्काल सम्पर्क गर्न अनुरोध गरेको छ। साथै मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा पछ्याई सुरक्षित रहन सबै नागरिकलाई अपिल गरिएको छ।