रातभर जंगलमा रूखमाथि बिताए हराएका बेल्डाँडीका तीन महिला, बिहान फोन गरेर भने– हामी सकुशल छौं, लिन आउनुस्
धनगढी : कञ्चनपुरको बेल्डाँडी गाउँपालिकामा च्याउ खोज्न गएका बेला सम्पर्कविहीन भएका तीन जना महिला सकुशल फेला परेका छन्। उनीहरूले रातभर जंगलभित्र रूखमाथि बसेर बिताएको र सोमबार बिहान घरमा फोन गरी आफूहरू सुरक्षित रहेको जानकारी दिएका हुन्।
बेल्डाँडी गाउँपालिका–३, चउन्नीकी लक्ष्मी थापामगर, मञ्जु क्षेत्री र सीता चौधरी आइतबार शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र च्याउ खोज्न गएका बेला सम्पर्कविहीन भएका थिए। उनीहरूको खोजीका लागि प्रहरी तथा स्थानीयवासी परिचालन गरिएको थियो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार तीनै जना सोमबार बिहान करिब पौने ६ बजे सम्पर्कमा आएका हुन्।
डीएसपी रावतले भने, उहाँहरूले बिहान घरमा फोन गरेर आफूहरू सकुशल रहेको र जंगलभित्र रूखमा बसेको जानकारी दिनुभएको छ। साथै आफूहरूलाई लिन आउन पनि आग्रह गर्नुभएको छ।
प्रहरीका अनुसार महिलाहरूले राति जंगलबाट बाहिर निस्कन नसकेपछि सुरक्षाका लागि रूखमा बसेर रात बिताएका थिए। उनीहरूको उद्धारका लागि प्रहरी टोली निकुञ्ज क्षेत्रतर्फ गएको छ।
उनीहरू सकुशल सम्पर्कमा आएपछि परिवारका सदस्य र स्थानीयवासीले राहतको सास फेरेका छन्। प्रहरीले उद्धारपछि घटनाबारे थप विवरण सार्वजनिक गर्ने जनाएको छ।