महाकालीमा पहिलो पटक मेरुदण्डको शल्यक्रिया

बेलौरी  : महाकाली प्रादेशिक अस्पतालमा पहिलो पटक मेरुदण्डको सफल शल्यक्रिया भएको छ । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. जगदीश जोशीका अनुसार मेरुदण्डको हड्डी भाँचिएका ३२ वर्षीय मुनी बोहोराको सफल शल्यक्रिया गरिएको हो ।

घाँस काट्ने क्रममा रुखबाट लडेर गम्भीर घाइते हुनुभएका भीमदत्त नगरपालिका–३, तिलकपुरका ३२ वर्षीय बोहोरालाई गत सोमबार अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. जोशीले साता दिनपछि बोहोरा पूर्ण रूपमा निको भएर घर फर्किएको बताए । बोहोराको डा. दुर्गेश चौधरी, डा. अनिल तिमिल्सिना, डा. मुकेश गामीलगायतको टोलीले शल्यक्रिया गरेको हो ।

‘रेफर सेन्टर’ का रूपमा चिनिएको अस्पतालले पछिल्लो समय विशेषज्ञ सेवालाई थप गर्दै लगिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेशप्रसाद पन्तले बताए । यसअघि मेरुदण्डको शल्यक्रियाका लागि यहाँका बिरामी काठमाडौँ, भारतलगायतका ठाउँमा जाने गरेका थिए । महँगो उपचारका रूपमा मानिँदै आएको मेरुदण्डको शल्यक्रिया कञ्चनपुरकै सरकारी अस्पतालमा भएपछि अब अरूलाई पनि सहज हुने अपेक्षा गरिएको छ ।

अध्यक्ष पन्तले चिकित्सक टोलीप्रति आभार व्यक्त गर्दै विगतमा यस्ता जटिल बिरामी बाहिर रेफर गर्नुपर्ने अवस्था रहे पनि अहिले महाकालीमै उपचार सम्भव हुनु सकारात्मक उपलब्धि भएको चर्चा गरे । उनले अस्पतालको समन्वय, प्रयास र सेवा विस्तारका कारण स्वास्थ्य सेवामा उल्लेखनीय सुधार भएको बताए ।

उनले भने, “बिरामी अस्पतालमा प्रवेशदेखि डिस्चार्जसम्म सहज सेवा दिने लक्ष्यका साथ निरन्तर सुधारका प्रयास भइरहेको छ । पछिल्लो समय विशेषज्ञ चिकित्सक थप भएसँगै अस्पतालले ओपिडीबाहेकका अन्य विशेष प्रकारका सेवासमेत दिन थालेको छ । अहिले यस अस्पतालमा दैनिक करिब एक हजार नौ सय बिरामी उपचारका लागि आउने गरेका छन् ।”

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.