बाजुरा : बाजुरा हिमाली गाउँपालिका–५ स्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार भएको जिप दुर्घटनामा घाइते भएका मध्ये दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ।
दुर्घटनामा अन्य सात जना घाइतेको उपचार जारी रहेको छ । कोल्टी आधारभूत अस्पताल बाजुरामा उपचाररत हिमाली गाउँपालिका–२ निवासी ४० वर्षीय धर्मलाल बुढा र हुम्लाको ताजाकोट गाउँपालिका–५ निवासी करिब ४० वर्षीय अम्मर सिंह बुढाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
प्रहरीका अनुसार धुलाचौरबाट दुधिला खोलातर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ ज १८७८ नम्बरको जिप सोमबार दिउँसो साढे १ बजे हिमाली गाउँपालिका–५ अन्तर्गत कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डको माथिल्लो मोडबाट अनियन्त्रित भई करिब १० मिटर तल रहेको अर्को मोडमा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
थप घाइतेहरु मध्ये चालक बाजुरा हिमाली गाउँपालिका वडा नं. २ नातीखोला बस्ने वर्ष २५ का जनविर बुढा, हिमाली गाउँपालिका वडा नं. २ नातीखोला बस्ने वर्ष ३१ की मिजरा बुढा , हुम्ला ताजाकोट गा.पा. ५ बस्ने वर्ष २० की अस्मिता थापा, हुम्ला ताजाकोट गाउपालिका ५ बस्ने वर्ष २८ को जंग सिंह बुढा , हुम्ला ताजाकोट गाउपालिका ५ बस्ने वर्ष २० को गोरख रोकाया, हुम्ला ताजाकोट गा.पा. ५ बस्ने वर्ष २७ को लोकेन्द्र बुढा र हुम्ला ताजाकोट गा.पा. ५ बस्ने वर्ष ९ की सुस्मा बुढाको कोल्टी आधारभुत अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरीका कार्यालय बाजुराका प्रबक्ता नरेश शाहीले जानकारी दिएका छन ।