धनगढी । आयुर्वेदिक उपचार पद्धतितर्फ बिरामीको आकर्षण बढ्दै गएको छ । पछिल्लो समय सुदूरपश्चिममा आयुर्वेदिक उपचार पद्धतितर्फ बिरामीको आकर्षण बढ्दै गएको हो ।
अघिल्लो वर्ष २०८१\८२ को तुलनामा गत आव २०८२\८३ मा सेवा लिने बिरामीको संख्या ३५ प्रतिशतले बढेको प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीले जनाएको छ ।
अघिल्लो आव २०८१\८२ मा ३५ हजार ५८१ बिरामीले उपचार सेवा लिएकामा गत आर्थिक वर्ष २०८२\८३ मा प्रादेशिक आयुर्वेद चिकित्सालयबाट ४८ हजार १६५ जना बिरामीले विभिन्न उपचार सेवा लिएका चिकित्सालयका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा।ओमप्रकाश कलौनीले जानकारी दिए ।
गत आवमा उपचार सेवा लिनेमध्ये ३९ हजार ८५६ जना नयाँ र ८ हजार ३०९ (फलो–अप) पुराना बिरामी रहेका उनले जानकारी दिए । त्यस्तै, गत आवमा २१८ जनाले छारसूत्र (अर्श),२ हजार ४६९ जनाले ड्रेसिङ,४८ जनाले फिस्टुला छारसूत्र, ४ हजार २७४ जनाले कटी बस्ती, १ हजार ९९८ जनाले जानु बस्ती, ९६० जनाले एक्स–रे (विभिन्न),८ हजार २५१ जनाले एकाङ्ग स्वेदन र २ हजार ८२७ जनाले सर्वाङ्ग स्वेदन सेवा लिएका उनले जानकारी दिए ।
त्यस्तै,१ हजार २ जनाले फिजियोथेरापि सेवा, ३ हजार ८३९ योग सेवा, २ हजार १०१ जनाले होमियोप्याथी सेवा, ४ हजार ४९५ प्रयोगशाला सेवा, ६ हजार ६१८ बालबालिकाले स्वर्णविन्दु प्राशन सेवन गरेको, ५८ जनाले अनुवासन वस्ति र १४२ जनाले निरुह वस्ति सेवा लिएका चिकित्सालयले जनाएको छ ।
त्यस्तै, गत आवमा ४९५ बिरामी नयाँ बेड भर्ना भएका, २४४ जनाले अग्निकर्म सेवा, ९१६ जनाले ग्रिवा वस्ति, ५१९ जनाले शिरोधारा, १ हजार १६८ जनाले मात्रा वस्ति, ३९९ जनाले छारसूत्र धागो परिवर्तन, १६८ जनाले जलौका चिकित्सा, ३२ जनाले नस्यकर्म,५८९ जनाले युएसजी सेवा लिएका तथा २१ हजार ९११ बिरामीलाई निःशुल्क औषधि वितरण गरिएको जनाइएको छ ।
चिकित्सालयमा उपचार सेवा लिनका लागि सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका तथा लुम्बिनी प्रदेशको बाँके,बर्दियाबाट समेत बिरामी आउने गरेको डा।कलौनीले बताए ।