सुदूरपश्चिमका चलचित्रकर्मी संगठित, सरस्वती खड्काको अध्यक्षतामा चलचित्रकर्मी संघ गठन

धनगढी  : चलचित्र तथा चलचित्रकर्मीको हक, हित, संरक्षण र प्रवर्द्धनका लागि सुदूरपश्चिमका चलचित्रकर्मी संगठित भएका छन् । प्रदेशमा चलचित्र क्षेत्रका समस्या पहिचान गरी समाधानका लागि पहल गर्ने उद्देश्यले सुदूरपश्चिम चलचित्रकर्मी संघ गठन गरिएको हो ।

वरिष्ठ चलचित्रकर्मी राजकुमार जोशीको अध्यक्षता तथा वरिष्ठ चलचित्रकर्मी खडकबहादुर मल्लको विशेष उपस्थितिमा सम्पन्न चलचित्रकर्मीहरूको भेलाले चलचित्रकर्मी सरस्वती खड्का भट्टको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

संघको उपाध्यक्षमा वीरेन्द्र सिंह ‘बिरु’, महासचिवमा सुरेन्द्र संगम, सचिवमा विनोद बोहरा ‘बोक्टानी किङ्ग’ र कोषाध्यक्षमा जयन्ती पाण्डेयलाई चयन गरेको छ ।
त्यस्तै सदस्यहरूमा रोबर्टसिंह बडैला, संगत थारू चौधरी, प्रदीप चनारा, सतीस सिन्हा, माया खड्का र ज्ञानेन्द्र कुँवर रहेका छन् । भेलाले वरिष्ठ चलचित्रकर्मी राजकुमार जोशीको संयोजकत्वमा खडकबहादुर मल्ल सदस्य रहेको सल्लाहकार समिति पनि गठन गरेको छ ।

सुदूरपश्चिमका चलचित्रकर्मी लामो समयपछि संगठित भएको भन्दै भेलामा सहभागी चलचित्रकर्मीहरूले खुसी व्यक्त गरेका छन् । उनीहरूले चलचित्र क्षेत्रको विकास, चलचित्रकर्मीको पेशागत अधिकार तथा समस्या समाधानका लागि संघले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

भेलामा चलचित्र पत्रकार संघ नेपाल, कैलालीका संस्थापक अध्यक्ष पुष्पराज जोशीले पछिल्लो दुई वर्षदेखि चलचित्र पत्रकार संघले चलचित्रकर्मीहरूसँग विभिन्न कार्यक्रम गर्दै आएको स्मरण गर्दै चलचित्रकर्मीहरू संगठित भएकोमा शुभकामना व्यक्त गरे ।

नवनिर्वाचित अध्यक्ष सरस्वती खड्का भट्टले सुदूरपश्चिमका सबै चलचित्रकर्मीलाई समेटेर संघलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन् । उनले चलचित्र क्षेत्रको विकास र चलचित्रकर्मीका साझा समस्याको समाधानका लागि सबैसँग सहकार्य गरेर अघि बढ्ने बताइन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.