धनगढी : सुदूरपश्चिम प्रदेशको कैलालीमा करिब एक अर्ब रुपैयाँभन्दा बढी मूल्यको काठ अवैध रूपमा कटान गरी बिक्री–वितरण गर्न खोजिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको छ।
अख्तियारले मंगलबार डिभिजन वन कार्यालय धनगढी र डिभिजन वन कार्यालय पहलमानपुरमा पुगेर काठको लिलाम र बिक्रीसम्बन्धी कागजात नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो।
अख्तियारको कञ्चनपुरस्थित कार्यालयको टोलीले ‘सुदूरपश्चिम प्रदेशमा ठूलो परिमाणमा अवैध तरिकाले काठ लिलाम बिक्री गर्न खोजिएको’ भन्ने उजुरीमाथि अनुसन्धान सुरु गर्दै कागजात नियन्त्रणमा लिएको हो। स्रोतका अनुसार प्रदेशमा उच्चस्तरको राजनीतिक संरक्षणमा यो काम अघि बढाइएको सूचनापछि अनुसन्धान अगाडि बढाइएको हो।
विभिन्न सामुदायिक वन, केही काठ व्यवसायी र वनका कर्मचारीहरूको मिलेमतोमा काठ तस्करी गर्न खोजिएको सूचनाका आधारमा अनुसन्धान सुरु गरिएको हो। अख्तियारसँग सम्बद्ध अनुसन्धान अधिकारीहरूका अनुसार काठ तस्करी र लिलामी प्रक्रियामा डिभिजन वन कार्यालय धनगढीका प्रमुख राम विचारी ठाकुर, डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख जनक पाध्या र वन निर्देशनालयका निर्देशक हेमराज विष्टको संलग्नता देखिने प्रारम्भिक प्रमाणसमेत फेला परेका छन्।
अख्तियारका अनुसार कैलालीका झन्डै एक दर्जन सामुदायिक वनबाट एक लाख २३ हजार क्युबिक फिट काठ तस्करी गर्ने योजना बनाइएको थियो। त्यस्तै, पहलमानपुर क्षेत्रबाट दुई लाख २२ हजार क्युबिक फिट काठ निकाल्ने तयारी गरिएको थियो। दुवै डिभिजन वन कार्यालयअन्तर्गतका काठको मूल्य एक अर्ब रुपैयाँभन्दा बढी पर्ने अख्तियारको प्रारम्भिक अनुमान छ।