सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय परिसरमा वृहत् सरसफाइ अभियान, स्थानीयको उल्लेखनीय सहभागिता
अत्तरिया : लामो समयदेखि झाडी र अनावश्यक वनस्पतिले ढाकिएको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय परिसरमा बुधबार वृहत् सरसफाइ अभियान सञ्चालन गरिएको छ।
विश्वविद्यालयको आह्वानमा बुधबार आयोजित अभियानमा विश्वविद्यालय संघर्ष समिति, सिद्धबाबा माध्यमिक विद्यालय, दुर्गालक्ष्मी नमूना माध्यमिक विद्यालय, सरस्वती नमूना माध्यमिक विद्यालय, सत्यवती एकेडेमी, लोटस आई अंग्रेजी माध्यमिक विद्यालय, एसपीए कलेज, ऐश्वर्य विद्या निकेतन, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विभिन्न क्लब, स्थानीयवासी तथा युवा समाजसेवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
अभियानका क्रममा विश्वविद्यालय परिसरमा फैलिएका झाडी, घाँस र अनावश्यक वनस्पति हटाई परिसरलाई व्यवस्थित बनाउने काम गरिएको थियो।
विश्वविद्यालयका उपकुलपति प्रा। डा। सुनिलकुमार जोशीले विश्वविद्यालय परिसरको संरक्षण र व्यवस्थापनका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताए। उनले परिसरमा फैलिएका झाडी तथा अनावश्यक वनस्पति हटाउने अभियानमा सामाजिक सङ्घसंस्था, युवा क्लब, रेडक्रस, नागरिक समाज, स्थानीय समूह तथा अन्य सरोकारवाला निकायलाई सक्रिय रूपमा सहभागी हुन आह्वान गरे।
लामो समयदेखि उचित व्यवस्थापन र नियमित हेरचाहको अभावमा विश्वविद्यालय परिसर झाडीले ढाकिएर जीर्ण अवस्थामा पुगेको थियो। सरसफाइ अभियानले परिसरको स्वरूप सुधार्नुका साथै विश्वविद्यालयलाई व्यवस्थित र आकर्षक बनाउने प्रयासको सुरुवात भएको सहभागीहरूले बताएका छन्।
स्थानीयवासीले यस्ता अभियानलाई निरन्तरता दिँदै विश्वविद्यालयको पूर्वाधार विकास र सञ्चालन प्रक्रिया पनि छिटो अघि बढाउन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
