‘मेरो विश्वविद्यालय, मेरो गौरव’ अभियानः सरसफाइमार्फत मेडिकल विश्वविद्यालय सञ्चालनको तयारीमा नागरिक ऐक्यबद्धता
अत्तरिया : शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको आह्वानमा आयोजित बृहत् सरसफाइ अभियानमा विश्वविद्यालय संघर्ष समिति, विभिन्न शैक्षिक संस्था, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, महिला समूह, क्लब तथा स्थानीयवासीको उल्लेखनीय सहभागितामा सम्पन्न भएको छ।
लामो समयदेखि बेवारिसे अवस्थामा रहँदा विश्वविद्यालय परिसर झाडी र अनावश्यक वनस्पतिले ढाकिएको थियो। बुधबार भएको विश्वविद्यालय परिसरलाई स्वच्छ र व्यवस्थित बनाउने उद्देश्यले सञ्चालन गरिएको अभियानमा विश्वविद्यालय संघर्ष समिति, सिद्धबाबा माध्यमिक विद्यालय, दुर्गालक्ष्मी नमूना माध्यमिक विद्यालय, सरस्वती नमूना माध्यमिक विद्यालय, सत्यवती एकेडेमी, लोटस आई अंग्रेजी माध्यमिक विद्यालय, एसपीए कलेज, ऐश्वर्य विद्या निकेतन, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विभिन्न क्लब, स्थानीयवासी तथा युवा समाजसेवीहरूको सक्रिय सहभागिता रहेको थियो।
विश्वविद्यालय संघर्ष समितिका संयोजक लोकराज पाण्डेय (आगो) ले विश्वविद्यालयप्रति नागरिकको अपनत्व बढ्दै गएको बताउँदै “‘मेरो विश्वविद्यालय, मेरो गौरव’ भन्ने भावनाका साथ विभिन्न क्षेत्रका नागरिक स्वस्फूर्त रूपमा सरसफाइ अभियानमा सहभागी हुनुभएको हो। यसले विश्वविद्यालयप्रति स्थानीयको प्रतिबद्धता र ऐक्यबद्धता झल्काएको छ,” भने।
उनले सुदूरपश्चिम प्रदेशको दीर्घकालीन सपना रहेको नेपालको पहिलो मेडिकल विश्वविद्यालय सञ्चालनको तयारी तीव्र गतिमा अघि बढिरहेको बताए। उपकुलपति र रजिस्ट्रार नियुक्तिपछि प्रशासनिक तथा शैक्षिक तयारीले गति लिएको उल्लेख गर्दै उनले यसै शैक्षिक सत्रदेखि एमबीबीएस अध्ययन सुरु हुनेमा आफूहरू विश्वस्त रहेको बताए।
“अब विश्वविद्यालय निर्माणमै सीमित रहने होइन, सञ्चालनतर्फ अघि बढिसकेको छ। यसलाई सञ्चालन हुनबाट कसैले रोक्न सक्ने अवस्था छैन,” पाण्डेयले भने।

उनले विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपबाट मुक्त, पारदर्शी र गुणस्तरीय शैक्षिक संस्थाका रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै भने, “विश्वविद्यालय कुनै राजनीतिक अखडा वा भर्ती केन्द्र नबनोस्। यो देशकै पहिलो मेडिकल विश्वविद्यालयका रूपमा उत्कृष्ट पहिचान स्थापित गर्न सकोस् भन्ने संघर्ष समितिको चाहना हो।”
पाण्डेयले विश्वविद्यालय स्थापना र सञ्चालनका लागि लामो समयदेखि विभिन्न तह र क्षेत्रबाट योगदान पुर्याउने सबै व्यक्ति, संस्था तथा सरोकारवालाप्रति आभार तथा सम्मान व्यक्त गरे।
यसअघि विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुनिलकुमार जोशी ले विश्वविद्यालय परिसरमा फैलिएका झाडी तथा अनावश्यक वनस्पति हटाउन सामाजिक संघसंस्था, युवा क्लब, रेडक्रस, नागरिक समाज, स्थानीय समूह तथा सरोकारवाला निकायलाई सरसफाइ अभियानमा सहभागी हुन आह्वान गरेका थिए।
सरसफाइ अभियानमा विभिन्न क्षेत्रको उत्साहजनक सहभागिताले विश्वविद्यालय सञ्चालनप्रति स्थानीय समुदायको विश्वास, अपनत्व र प्रतिबद्धतालाई थप मजबुत बनाएको सहभागीहरूले बताएका छन्।
