अत्तरिया : कैलालीको गोदावरी नगरपालिका ७, जमुनानगर हरैयाकी ४४ वर्षीया पार्वती बगटी (ऐर) विगत ११ दिनदेखि बेपत्ता भएकी छन् । असार २६ गते “अस्पताल जान्छु” भन्दै घरबाट निस्किएकी उनी त्यसयता सम्पर्कविहीन रहेको परिवारले जनाएको छ ।
परिवारका अनुसार घरबाट निस्कँदा उनीसँग मोबाइल फोन पनि थियो । तर त्यसयता फोन स्विच अफ रहेको र कुनै सम्पर्क हुन नसकेको जनाइएको छ ।
पार्वतीका श्रीमान डम्बरबहादुर ऐर रोजगारीका सिलसिलामा भारतमा सवारी चालकका रूपमा कार्यरत छन् । श्रीमती बेपत्ता भएको खबर पाएलगत्तै उनी घर फर्किएका छन् । उनले आफू परदेशमा रहे पनि परिवारको आवश्यकताअनुसार खर्च पठाउँदै आएको र बस्नका लागि तराईमा घरजग्गासमेत खरिद गरी परिवारको भविष्यका लागि प्रयास गरेको बताए । एक्कासि श्रीमती सम्पर्कविहीन भएपछि आफू निकै चिन्तित बनेको उनको भनाइ छ ।
पार्वतीका ८ र १३ वर्षका दुई छोरा छन् । आमा बेपत्ता भएपछि उनीहरू अत्यन्तै चिन्तित बनेका छन् । उनीहरूले जहाँ भए पनि सकुशल घर फर्किन आफ्नी आमासँग भावुक आग्रह गरेका छन् ।
घरमा रहेकी वृद्ध सासुले पनि नातिहरूको अवस्था दयनीय बनेको बताउँदै बुहारीलाई जतिसक्दो छिटो घर फर्किन अनुरोध गरेकी छन् । यस्तै, बेपत्ता महिलाकी देउरानीले पनि साना बालबालिकाको भविष्यप्रति चिन्ता व्यक्त गर्दै घर फर्किन आग्रह गरेकी छन् ।
स्थानीयका अनुसार पार्वती घरबाट निस्कँदा रातो रङको सुट लगाएकी थिइन् भने हातमा प्लास्टिकको झोला बोकेकी थिइन् ।
परिवारले पार्वतीलाई कसैले कतै देखेमा नजिकको प्रहरी कार्यालय वा ९८६८५५३१२६ नम्बरमा सम्पर्क गरी जानकारी गराइदिन सबैमा अनुरोध गरेको छ । साथै, जहाँ जुनसुकै अवस्थामा भए पनि सुरक्षित रूपमा घर फर्किन परिवारले हार्दिक अपिल गरेको छ ।