अत्तरियामा वन क्षेत्र ओगटेर बसेका घुमन्ते समूहबारे स्थानीयको संका, अनैतिक क्रियाकलाप अनुसन्धान गर्न माग

अत्तरिया  : कैलालीको गोदावरी नगरपालिका–१ स्थित सुरक्षा महिला सामुदायिक वन क्षेत्रमा लामो समयदेखि अस्थायी रूपमा बस्दै आएका भारतीय नागरिक भएको स्थानीयले दाबी गर्ने घुमन्ते समूहका गतिविधिप्रति स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन्।

उनीहरूले सम्बन्धित निकायसँग घटनाबारे निष्पक्ष अनुसन्धान गरी आवश्यक कारबाही गर्न माग गरेका छन्। स्थानीयका अनुसार करिब डेढ महिना देखि वन क्षेत्रमा बस्दै आएका उक्त समूहका सदस्यहरू बिहीबार आपसमा झगडा हुँदा एकजना घाइते भएका थिए। घटनापछि स्थानीयको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीको टोली घटनास्थल पुगेको थियो। स्थानीयको आरोप छ कि प्रहरीले सम्झाइबुझाइ गरेर उनीहरूलाई छाडेको छ भने थप अनुसन्धान वा कारबाही भएको देखिएको छैन।

स्थानीयवासीले उक्त समूहका गतिविधिका कारण आफूहरू असुरक्षित महसुस गर्न थालेको बताएका छन्। उनीहरूका अनुसार झगडा, होहल्ला तथा अन्य गतिविधिले आसपासका बासिन्दालाई पटक–पटक हैरानी हुने गरेको छ। केही स्थानीयले उनीहरूसँग हातहतियार रहेको आशंका समेत व्यक्त गरेका छन्। यद्यपि, यसबारे प्रहरी वा सम्बन्धित निकायबाट आधिकारिक पुष्टि भएको छैन।

स्थानीयका अनुसार उक्त समूह वर्षौंदेखि बेला–बेलामा आएर वन क्षेत्रमा अस्थायी रूपमा बस्ने गरेको छ। उनीहरू के उद्देश्यले आउने, कसको अनुमति लिएर बस्ने तथा उनीहरूको गतिविधि के हो भन्ने विषयमा स्पष्ट जानकारी नभएको स्थानीयको भनाइ छ।

केही स्थानीयले रातिको समयमा भारतीय नम्बर प्लेट भएका सवारीसाधन आउने–जाने गरेको र सामान ओसारपसार तथा भेटघाट हुने गरेको दाबी गरेका छन्। यद्यपि, यी दाबीहरूको स्वतन्त्र पुष्टि हुन सकेको छैन। स्थानीयवासीले वन क्षेत्रमा अनधिकृत रूपमा बसोबास भएको विषयमा सम्बन्धित निकायले छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न, आवश्यक सुरक्षा व्यवस्था मिलाउन तथा कानुनअनुसार आवश्यक कदम चाल्न आग्रह गरेका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.