धनगढी : प्रतिकूल मौसमका कारण स्थगित गरिएको कोरा धनगढी २०२६ अब साउन ९ गते, शनिबार आयोजना हुने भएको छ। ओम श्रीनगर स्पोर्ट्स क्लबको आयोजना तथा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को समन्वयमा साउन २ गते आयोजना हुने तय गरिएको उक्त सामूहिक साइकल यात्रा बिहानैदेखि परेको लगातार वर्षाका कारण स्थगित गरिएको थियो। सहभागीहरूको सुरक्षा र सहजतालाई मध्यनजर गर्दै कार्यक्रम अर्को मितिमा सारिएको आयोजकले जानकारी दिएको थियो ।
आयोजकका अनुसार अब साउन ९ गते शनिबार पूर्वनिर्धारित कार्यक्रमअनुसार कोरा धनगढी २०२६ सञ्चालन गरिनेछ । कार्यक्रममा सहभागी हुन इच्छुक सम्पूर्ण साइकलप्रेमीलाई नयाँ मितिमा उपस्थित भई कार्यक्रमलाई सफल बनाउन समेत आयोजकले आग्रह गरेको छ।
स्वस्थ जीवनशैलीको प्रवर्द्धन, वातावरण संरक्षण, कार्बन उत्सर्जन न्यूनीकरण तथा साइकललाई दिगो र वातावरणमैत्री यातायातका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना हुँदै आएको कोरा धनगढीले हरेक वर्ष सयौँ साइकलप्रेमीलाई एकै स्थानमा जोड्दै आएको छ।
यस वर्षको राइड धनगढीबाट सुरु भई शहीदगेट, राजघाट, गेटा , भल्का, वनबेहेडा सेहेरी, जाखाौंर ताल हुँदै पुनः धनगढीमै आएर सम्पन्न हुने कार्यक्रम रहेको छ। प्राकृतिक सम्पदा, पर्यावरण संरक्षण र स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्य बोकेको यस अभियानले यसपटक पनि उत्साहजनक सहभागिता जुट्ने आयोजकको विश्वास रहेको छ।
आयोजकले मौसम अनुकूल रहेमा साउन ९ गते बिहान निर्धारित समयमै उपस्थित भई कोरा धनगढी २०२६ लाई भव्य रूपमा सफल बनाउन सम्पूर्ण सहभागी, साइकलप्रेमी तथा सरोकारवालालाई हार्दिक अनुरोध गरेको छ।