धनगढी, : कैलालीको धनगढीमा आमरण अनसनरत डा. गोविन्द केसीको आन्दोलनप्रति अत्तरियाका युवा नेता तथा शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका संयोजक लोकराज पाण्डेय ‘आगो’ले असहमति जनाएका छन्।
पाण्डेयले शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको प्रक्रिया सकारात्मक रूपमा अघि बढिरहेको अवस्थामा गरिएको अनसनले सुदूरपश्चिममा विकसित भएको आशा र उत्साहलाई प्रभावित पार्न सक्ने बताएका छन्।
उनका अनुसार अदालतबाट बदर गरिएका उपकुलपति (भिसी) र रजिस्ट्रार पुनर्बहाली भएसँगै विश्वविद्यालय सञ्चालनको बाटो खुल्दै गएको छ। साथै एमबीबीएस अध्ययन सुरु गर्ने तयारी र ३०० शय्याको शिक्षण अस्पताल निर्माणको प्रक्रिया अघि बढेकाले सुदूरपश्चिमवासीमा नयाँ आशा पलाएको उनले उल्लेख गरे।
पाण्डेयले विश्वविद्यालय सञ्चालनका लागि स्थानीयवासी स्वयं सक्रिय बनेर विश्वविद्यालय परिसरमा बृहत् सरसफाइ अभियान सञ्चालन गरिरहेको स्मरण गराउँदै यस्तो सकारात्मक वातावरणका बीच डा. केसीले धनगढीमै आमरण अनसन सुरु गर्नु उपयुक्त नभएको धारणा व्यक्त गरे।
उनले डा. केसीको आन्दोलन सुदूरपश्चिमका नागरिकको दीर्घकालीन चाहना र क्षेत्रीय हितसँग मेल नखाने दाबी गर्दै आन्दोलन पुनर्विचार गर्न आग्रह गरेका छन्। साथै उनले डा। केसीलाई आमरण अनसन अन्त्य गरी विश्वविद्यालय सञ्चालन र स्वास्थ्य शिक्षाको विकासमा सहकार्य गर्न अपिल गरेका छन्।
पाण्डेयको भनाइ सार्वजनिक भएसँगै डा. केसीको आन्दोलन र शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको विषयमा सुदूरपश्चिममा बहस थप चर्किने देखिएको छ।